कोरोना संक्रमणबाट ललितपुरमा ३ सहित थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरमा ३ सहित थप ६ जनाको मृत्यु


कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान  गएको छ। ललितपुर तीन जना, पोखरा, रुपन्देही र भरतपुरमा एक एक जनाको मृत्यु भएको हो।

ललितपुरको पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका रहेका स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९:४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ती पुरुषको भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।

१२ दिन अघि बिरामी भएका ति पुरुषको कोरोना परीक्षणका लागि नेपाल कोरिया मैत्री अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल लगिएको ति वृद्धको उपचार क्रममा आज बिहान मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

यस्तै भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यस्तै पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदेशमा दुई हजार ८२० सङ्क्रमित भएकामा एक हजार ८४९ निको भएका छन् ।

यस्तै भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

Logo