जगदम्बा स्टील्ससहित दुई उद्योगलाई कारबाही

जगदम्बा स्टील्ससहित दुई उद्योगलाई कारबाही


काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर अनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ ।

विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई शुक्रबार कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तर अनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए ।

विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनु पर्नेमा ०.५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।

यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनु पर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्री वितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।रासस

Logo