चन्द्रप्रसाद आचार्य हत्या प्रकरणमा छोराछोरीले किटान गरे प्रहरीका २७ गल्ती

काठमाडौं । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको अढाई महिना वितिसकेको छ । घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले यो घटनालाई अझै पनि हत्या भनिरहेको छैन् । यसलाई संकास्पद घटना भनेको छ । आचार्यको परिवार भने हत्या नै भएको भन्दै न्यायको खोजीमा भौतारिहेको छ ।

उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको दाबी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

उनीहरुका अनुसार मिति २०७५ साल फागुन १८ गते राति विरेन्द्रनगर मुख्य बजारमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा रहेको मोवाइल टोलीले फेला पारेको थियो ।

विरेन्द्रनगरबीच बजारमै मडर, दुई महिनासम्म रहस्यमै (भिडियोमा)

उनीहरुले आफ्नो बुवाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै सरकारसँग सत्य तथ्य छानबिन गरि आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै छोरी संगिताले भनिन्, ‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हो । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’

आफ्नो बुवाको विरेन्द्रनगरकोबीच बजार बुद्धपथमा नै हत्या हुँदासमेत प्रहरी प्रशासन अनुसन्धानमा चुक्नु र अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नुले आफूहरुलाई पीडामाथि थप पीडा थपिएको उनले गुनासो पोखिन् । मृत्तकका छोरा तिलकराज आचार्यले पनि आफ्नो बुवाको हत्या नै भएको दाबी गरे । सरकारले हत्यामा संलग्न दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरि कारवाही गर्न माग गरे ।

आफ्नो बुवाको शव फेला परेको ठाउँ प्राईभेट हस्पिटल, नाम चलेका होटल र विभिन्न सञ्चारमाध्यमहरु भएको ठाउँ भएको बताउँदैं बुवाको व्यस्त बजारमा हत्या हुँदापनि कुनैपनि स्थानीय मिडियाले समाचार नबनाएकोमा आफूहरु थप संशकित भएको बताए । छोरा र छोरीका अनुसार मृत्तक तत्कालिन नेकपा एमालेमा आवद्ध थिए ।

अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपामा आवद्ध सदस्य अर्थात भोटर हुँदापनि यो हत्याको विषयमा पार्टी नेतृत्वले यसबारेमा अहिलेसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । यस घटनाको अनुसन्धानको क्रममा सुरुवाती चरणदेखी नै प्रहरी प्रशासनले त्रुटीपूर्ण तरिकाले अनुसन्धान गरेको देखिन्छ ।

अनुसन्धानमा भएका त्रुटिहरु :
१, प्रहरीले फाल्गुन १८ गते राती १०ः०३ मा शव फेला पारिसकेपछी परिवार तथा आफन्त कोही कसैलाई खबर नगरी आफ्नो मनोमानी तरिकाले शव उठाउनु ।

२, शवलाई १०ः०३ मा प्रहरीले फेला पारेको तर मृतकको पकेटमा भएको आफन्त महेन्द्र प्रसाद शर्माको सम्पर्क नम्वरमा रातको १ः३० बजे मात्रै सम्पर्क गर्नु ।

३, प्रहरीले मृतकको पकेटमा भएको पैसा शव उठाउने समयमानै फेला पार्नु तर सोही पकेटमा भएको सम्पर्क नम्वरको चिट राती १ः३० बजे मात्रै फेला पार्नु ।

४, बिहान ५ः०० बजे आफन्तहरु महेन्द्र प्रसाद शर्मा र मृतकको साला बलीराम अधिकारी सनाखत गर्न पुग्दा शव सिधै पोष्टमार्टम् गृहमा फेला पार्नु ।

५, घटनास्थलबाट शव प्रहरीलेनै उठाएको भएतापनि भोलिपल्ट मृतकको साला बलीराम अधिकारीले घटनास्थलमा छानबिनको लागी आउनुहोस् भनेर अनुरोध गरेपछि मात्रै इन्स्पेक्टर डिल्लीराज सापकोटाको टिम घटनास्थलमा जानु ।

६, घटनास्थलमा ५-६ थोपा मात्र रगत हुनु र वरीपरी कसैलाई पनि घटनाको बारेमा केहि जानकारी नहुनु ।

७, घटनास्थलमा अहेबको रोहबरमा मृत घोषणा गरिएको भनिएको छ तर ति २ जना अहेब को हुन् अहिलेसम्म पनि कोहि कसैलाई थाहा छैन ।

८, मेरो बुवाको शरिरलाई मृत घोषणा गरेको अस्पतालको र डाक्टरको प्रमाणपत्र देखाउनुहोस् भन्दा अहिलेसम्म पनि प्रहरीले पिडित समक्ष पेश गर्न नसक्नु ।

९, १८ गते राती १०ः०३ बजे शव फेला पारिसकेको भएपनि उक्त घटनाको मुचुल्का १९ गते बिहान ८ः०० बजे मात्रै उठाइएको तर पनि मुचुल्का उठाउने समयमा

१०, मृतकको परिवार र आफन्त कसैलाई पनि संलग्न नगरी सिमित व्यक्तिहरुको बिचमा मुचुल्का उठाउनु ।

११, अस्पतालमा पनि पिडीतका आफन्तहरुलाई प्रहरी प्रशासन र स्थानिय जनप्रतिनिधीहरुले पोष्टमार्टम्को लागी दवाब दिनु ।

१२, मृतकको परिवारको गैर हाजिरीमै पोष्टमार्टम् गर्नु ।

१३, प्रहरी इन्स्पेक्टर डिल्लीराज सापकोटाले घटना घटेको तेस्रो दिन पिडितको घरमा गई तपाईंहरु ढुक्क हुनुहोस् तपाईंहरु १३ दिनको काजक्रिया भित्रै हुंदा १४, हामी अपराधीलाई कानुुनी दायरामा ल्याउंछौं भनि प्रतिबद्धता गर्नु ।

१५, घटना घटेको तेस्रो साता डिल्लीराज सापकोटाको काठमाण्डौ सरुवा हुनु ।

१६, डिल्लीराज सापकोटाबाट अनुसन्धानको क्रममा त्रुटी भएकै हो अपराधीलाई प्रमाण लुकाउन र भाग्नको लागी रातभरीको समय दिनु, र पिडित परिवारले प्रश्न गर्न थालेपछि निजको सरुवा हुनु ।

१७, घटनास्थलका प्रत्यक्षदर्शी र पछि यस घटनाको अनुसन्धानमा खटिएका हरेक अनुसन्धान अधिकारी प्रहरीहरुले पिडित समक्ष फरक फरक कुरा पेश गर्नु ।

१८, मृतकको शरिरमा भएको कपडाहरु पिडित परिवारले ५ औं दिनको दिन कहां छ भनेर खोजी गर्दा हामीलाई थाहा भएन भनेर गैरजिम्मेवार पूर्ण जवाफ दिनु ।

१९, पिडित परिवारले शंका लागेका व्यक्तिहरु घटनास्थल नजिकैका अतिथि होटलका संचालक गोविन्द पाण्डे, व्यवस्थापक नेत्रलाल पाण्डे र कुक यामलाल

२०, गौतम माथी र अन्य व्यक्तिहरु माथी समेत गम्भिर तरिकाले अनुसन्धान नगरी सामान्य सोधपुछ गर्दै छोड्दै गर्नु ।

२१, पोष्टमार्टम् रिपोर्ट घटना घटेको ३७ औं दिनको दिनसम्म पनि परिवारलाई देखाउन नमान्नु ।

२२, पिडित परिवारले प्रहरीले कमजोरी ग¥यो भनेर भन्दा इन्स्पेक्टर निरञ्जन घिमिरेले तपाईंहरुले हामी माथी शंका गर्नुहुन्छ भने तपाईंहरुको केस यत्तिकै सेलाउन पनि सक्छ भनी धम्कीपूर्ण कुरा पेश गर्नु ।

२३, विधी विज्ञान प्रयोगशाला सामाखुशीमा पठाएका अतिथी होटलमा भेटिएको प्रमाणहरु रगत जस्तो वस्तुले लतपतिएको टावेल, काउण्टरमा लागेको रगत र २४, भित्तामा भेटिएको रगतको ल्याव टेष्टको लागी पिडित परिवारले पहल नगर्दा सम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट कुनै पहल नगरिनु र हालसम्म पनि उक्त रिपोर्ट पिडित परिवार समक्ष पेश गर्न नसक्नु ।

२५, घटनास्थल अतिथी होटलका म्यानेजर नेत्रलाल पाण्डे (फस्ट आई विट्नेस) भएता पनि प्रहरीले हामीलेनै भेटेको भनेर दावी गर्नु र निज नेत्रलाल पाण्डे माथी सामान्य अनुसन्धान गरी छाड्नु ।

२६, एउटा सामान्य घटनाको बारेमा समेत सञ्चारमाध्यमलाई खबर गर्ने प्रहरीले त्यती ठूलो घटना प्रदेश राजधानीको बिच बजारमा हुंदा समेत सञ्चारमाध्यमलाई खबर नगर्नु ।

२७, पिडित परिवारले शंकास्पद व्यक्तिमाथी किटानी जाहेरी दिन्छौं भन्दा डिल्लीराज सापकोटा र प्रदिप कुमार क्षेत्री ले तपाईंहरुले किटानी दिनु भयो भने हामी ती व्यक्तिहरुलाई केही समयको लागी थुनीदिन्छौं अनि तपाईंहरुको केस सकिन्छ र ती व्यक्तिहरु यदी दोषी सावित नभएमा तपाईंहरुले उनीहरुलाई क्षतिपूर्ति समेत तिर्नुपर्ने हुन्छ भनी पिडित परिवारलाई त्रास देखाउनु र किटानी जाहेरी लिन नमान्नु ।