चुलिँदै पेट्रोलियम पदार्थको सङ्कट, खपत कटौती उचित उपाय

चुलिँदै पेट्रोलियम पदार्थको सङ्कट, खपत कटौती उचित उपाय


पेट्रोलियम पदार्थमा निरन्तरको मूल्यवृद्धिले अर्थतन्त्रमै असर देखिन थालेको छ। विदेशी मुद्रा सञ्चिति प्रभावित हुनका साथै व्यापार घाटा झन् बढाएको छ। अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको ढुकुटी रित्तिएको छ । निगम आउने महिनादेखि पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन नसक्ने अवस्थामा छ ।

निगमले हालसम्म ४५ अर्ब रुपियाँ घाटाबापतको रकम भुक्तानी गरिसकेको छ। निगमको सञ्चित १९ अर्ब, मूल्य स्थिरीकरण कोषको १४ अर्ब र गत वर्षको नाफा १२ अर्ब रुपियाँ भुक्तानी दिइसकेको छ। अब निगमसँग बिक्रीबाट आएको रकमबाहेक अन्य कुनै रकम निकासा गर्ने ठाउँ छैन । सञ्चिति र मूल्य स्थिरीकरण कोषका रकम सकिएको छ।

बढ्दै घाटा
पछिल्लो मूल्य समायोजनपश्चात् पनि निगम मासिक नौ अर्ब २४ करोड रुपियाँ घाटा छ। निगमले प्रतिलिटर १८२ रुपियाँ लागतको पेट्रोललाई १६० रुपियाँमा बिक्री गरिरहेको छ जसमा प्रतिलिटर २२ रुपियाँ घाटा छ। प्रतिलिटर १७१ रुपियाँ लागतको डिजेल १४३ रुपियाँमा बिक्री गर्दा २८ रुपियाँ घाटा भइरहेको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थमा घाटा बेहोर्नुको अर्को कारण एलपी ग्यास हो । निगमलाई हाल एलपी ग्यासबाट प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा भइरहेको छ । एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ५३२ लागत छ भने एक हजार ६०० रुपियाँमा बिक्री गरिएको छ ।

निगमलाई मट्टीतेल र हवाई इन्धनमा नाफा छ । १३६ रुपियाँ लागतको मट्टीतेल १४३ रुपियाँमा बिक्री गर्दा प्रतिलिटर सात रुपियाँ नाफा भइरहेको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७ रुपियाँ नाफा र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ६७ रुपियाँ नाफा छ ।

कर र कमिसन
पेट्रोलियम पदार्थको खरिद मूल्यभन्दा दोब्बर मूल्य कर र शुल्क लगाइएको छ । पेट्रोलमा प्रतिलिटर ६० रुपियाँ कर, ढुवानी भाडा कमिसन, बीमा, प्राविधिक नोक्सानीमा जोड्दा प्रतिलिटर ७० रुपियाँ पुग्छ । भन्सार शुल्क प्रतिलिटर २५ रुपियाँ, सडक मर्मत चार रुपियाँ, पूर्वाधार कर १० रुपियाँ र मूल्य अभिवृद्धि कर १८ रुपियाँ लिइएको छ। डिजेलमा प्रतिलिटर ४८ रुपियाँ कर छ ।

खरिद गरिएको पेट्रोलियम पदार्थको मूल्यमा विभिन्न कमिसन र शुल्क जोडिएको छ । निगमले आफ्नो प्रशासनिक खर्च प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर पाँच रुपियाँ तोकिएको छ । पेट्रोलियम बिक्रेताको कमिसन र ढुवानी प्रतिलिटर पाँच रुपियाँ छ । वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइएको छ । सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायत पनि मूल्यमा समावेश छन् ।गाेरखापत्रबाट

Logo