चित्लाङको ऐतिहासिक धारो, जहाँ बसेर महाकविले कविता लेखे (भिडियो रिपोर्ट)

(रामजी बलामी)

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामाग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?

महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित यो चर्चित ‘यात्री’ कविता धेरैले सुनेको हुनुपर्छ । तर, महाकवि देवकोटाले यति चर्चित कविता कहाँ बसेर लेखेका होलान् ? धेरैलाई लाग्न सक्छ, देवकोटाले यो कविता पक्कै पनि बाटोमा हिड्दै गरेका यात्रीहरुलाई हेर्दै लेखेका होलान् ।

कवितामा व्यक्त गरिएको भाव हेर्दा पूजापाठ र तिर्थयात्रा गर्न हिडेका मानिसहरुलाई नियाल्दै यो कविता रचना गरिएको कल्पना गर्न सकिन्छ । तपाई हाम्रो यो कल्पना केही हदसम्म सत्यको नजिक छ । हो, देवकोटाले यो चर्चित कविता मकवानपुरको वडा नम्वर १० चित्लाङमा अवस्थित ढुंगेधारामा बसेर लेखेका हुन् । देवकोटा कवि सम्मेलनमा तराई वा भारत जाँदा यही धारामा नुहाइधुवाइ गर्ने र आसपासको घरमा बास बस्ने गर्दथे ।

यो धारा, नेपालको राजधानी काठमाडौंलाई भारतसँग जोड्ने एक मात्रै प्राचिनकालिन बाटोको छेउमै छ । चन्द्रागिरीको काख र चित्लाङको सिरान भागमा रहेको यो धाराको नाम हो गुर्जुधारा । स्थानीय शिक्षक तथा पर्यटन व्यवसायी बुद्धरत्न मानन्धर गुर्जुधारासँग महाकवि देवकोटाको गहिरो साइनो रहेको बताउँछन् ।

कुनै बेला काठमाडौं हिडेका र काठमाडौंबाट आएका यात्रीहरु यही धाराको पानीले प्यास मेट्ने गर्दथे । नेपालका मल्लकालिन शासकहरुदेखि स्वदेशी विदेशी यात्रीहरुले समेत यही धाराको पानी पिएर थकाई मार्दै चन्द्रागिरीको यात्रा गर्दथे । पाँच मिटरको एउटै ढुंगाले बनेको यो धारा मकवानपुरकै सबैभन्दा ठूलो धारा मानिन्छ । २०७२ सालको विनाशकारी भूकम्पमा चित्लाङका धेरैजसो धाराहरु सुके तर यो धारा चौबिसै घण्टा अविरलरुपमा बगिरहेका छन् । यो धाराको पानीमा अचम्मको गुण रहेको बताउँछिन् स्थानीय बिमला भोम्जन ।

यो धारा ऐतिहासिक रहेको कुरामा कुनै दुविधा रहेन । धाराको आसपास रहेका विभिन्न कलात्मक संरचनाहरु समेत निकै पुराना देखिन्छन् । यो धारा विगतमा जस्तो बनेको थियो अहिले पनि त्यस्तै रहेको स्थानियवासि बताउँछन् ।

अहिले यो धाराको पानी पिउनका अलावा लुगा धुन, नुहाउन र खेतवारीमा लगाउन प्रयोग हुँदै आएको छ । ऐतिहासिक महत्व बोकेको यो धाराको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयहरुले विभिन्न पहलहरु पनि गरिरहेका छन् ।

गुर्जुधारा निर्माण हुनुको प्रमुख कारण हो यहाँको ऐतिहासिक बाटो । राजधानीलाई तराई जोड्ने एउटै मात्र बाटो हो यो । राजधानीमा गाडी बोकेर भित्र्याउने बाटो पनि यही नै हो । अझै पनि काठमाडौंलाई तराई जोड्ने सबैभन्दा छोटो यो बाटो निकै पुरानो भएता पनि जस्ताको त्यस्तै छ । हेरौं यो भिडियोमा :