सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस


सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ ।

केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो । स्रोतका अनुसार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्री पाउने भएका छन् ।

कांग्रेसले पाउने सबै मन्त्रालयमा यस अघि एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य मन्त्री थिए । सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । 

मन्त्रालय बाँडफाँडपछि मन्त्रिमण्डल पुनर्गठनको तयारी थालिएको हो । बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे छलफल भएको थियो । 

कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीका अनुसार केन्द्रमा सहमति भएर मुख्यमन्त्री कार्यालयमा कांग्रेसलाई सरकारमा सहभागी गराउने सर्कुलर आएको छ । केन्द्रले निर्णय गरेर पठाए अनुसार आज नै कांग्रेसका मन्त्रीलाई सरकारमा सहभागी गराइने मन्त्री जोशीले बताइन् ।

अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिइँदै

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । 

तर, अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ । 

एकीकृत समाजवादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजीनामा समेत दिन लगाएको छ । 

नयाँ मन्त्री हुन लागोका प्रकाश रावल यसअघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए । तर, भ्रष्टाचार अभियोग लागेपछि उनले राजीनामा दिएका थिए ।

(मोहन जोशी, न्युज कारखाना)

Logo