नेकपा स्थायी कमिटी बैठक सकियो, एमसीसी आवश्यक संशोधन गरी अगाडि बढाइने

नेकपा स्थायी कमिटी बैठक सकियो, एमसीसी आवश्यक संशोधन गरी अगाडि बढाइने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । आजको स्थायी कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकले अनेक मोड र घुम्ती पार गरेर एकता, समझदारी र सर्वसम्मति कायम गरेको थापाको भनाइ छ ।

त्यस्तै नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । तर के संशोधन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेकोे प्रतिवेदन अनुसार अगाडि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ । प्रवक्ता श्रेष्ठले भने–‘एमसीसीको हकमा आवश्यकताअनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने पार्टीेले निर्णय गरेको छ । तर के संशोधन गर्ने भन्ने विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन र पार्टीमा थप छलफल गरिने छ ।’ खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको थियो ।

त्यस्तैगरी स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय समेत गरेको छ । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । आजको बैठकमा स्थायी समिति सदस्यहरु रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । उनीहरुले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावहरुका सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।

Logo