नगरपालिकाले २० आमा समूहलाई दियो एक लाखका दरले बीउ पुँजी

नगरपालिकाले २० आमा समूहलाई दियो एक लाखका दरले बीउ पुँजी


खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलव्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दैआएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो । 

स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बीउ पुँजी उपलव्ध गराइएको हो । 

११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरेको हो ।

नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ । 

समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन् ।

Logo