शङ्का गर्नु र आरोप लगाउनु पुरुषहरुको पुस्तैनी हक

हरेक विवेकशील प्राणीले आफू स्वतन्त्र भएको मन पराउँछन् । स्वतन्त्र हुनलाई र स्वाभिमान पूर्वक बाच्नलाई आफ्नै बलबुताको आय श्रोत अत्यन्तै जरुरी छ । हाम्रो सामाजिक संरचनालाई नियाल्दा पनि स्वतन्त्रता सम्पत्ति सँगै जोडिएर आएको देख्न सकिन्छ । अर्थात् जो सँग सम्पत्ति छ उही अरू भन्दा स्वतन्त्र पनि भएको हुन्छ । सम्पत्तिको बलमा प्राप्त स्वतन्त्रता त्यसको क्षय सँगै गुम्दै जानु बेग्लै कुरा हुन सक्छ तर स्वाभिमानी भएर स्वतन्त्रता पूर्वक बाच्नलाई धन दौलत मुख्य आवश्यकता हो त्यसलाई अन्य दृष्टिकोणबाट पनि नकार्न सकिँदैन ।

अब स्वाबलम्बी को हुने भन्ने प्रश्न अगाडी आउँछ । हाम्रो सामाजिक संरचनाले नै पुरुषहरूलाई स्वाबलम्बी हुनै पर्ने परम्परा स्थापित गरेको छ र महिलाको हकमा भने आश्रित हुनुलाई उत्तम मानेको छ । स्त्रीको पालन पोषण गर्नु पुरुषको कर्तव्य हो भने पुरुषको सेवा गर्नु उसलाई पैसा कमाउन सबल बनाउनु र उसले गर्ने श्रीष्टिमा सहायक बनेर रहनु महिलाको दायित्व हो । यो भन्दा बाहिरको काम अथवा अन्य कर्तव्यहरूको आकान्क्षि हुनु भनेको सोझै सामाजिक परम्परालाई अस्वीकार गर्नु अथवा बिद्रोही बन्नु हो जसलाई समाजले कहिल्यै सकारात्मक नजरले हेर्न सकेन ।

महिलाले कुनै पुरुषको स्वतन्त्रतामा शङ्का गरिहालेपनि त्यसमाथि प्रश्न उठाउने हिम्मत गर्नुलाई दुस्साहस नै मानिन्छ । जस्तो भन्यो त्यस्तो खान लाउन पाएकै छस्, कमाएकै छु, छोराछोरी लाई पढाएकै छु त्यो भन्दा बाहेक तँ लाई के चाहियो ? म कहाँ गएँ या के गरेँ तलाई चासो पर्‍यो ? पुरुषले महिलाका अधिकांश ठुला प्रश्नमा दिने अन्तिम जवाफ भनेको यही हो ।

पुरुष स्वतन्त्र साँढे भएर हिडोस त्यसमा प्रश्न गर्ने अधिकार समेत महिलालाई हुँदैन । डराई डराई कतै गल्ती हुन्छ कि भनेर सोचेर मात्र ‘हिजो कहाँ जानुभाथ्यो र’ भनेर आफ्नो लोग्नेलाई प्रश्न सोध्ने कति महिला होलान् समाजमा ? तर त्यही अवस्थामा बिना सूचना कुनै महिला एक रात बाहिर बिताएर आएमा त्यो घरमा त्यो समाजमा उसको स्थान कहाँ हुन्छ हामी सबैले देखे भोगेको र अनुभूत गरेकै कुरा हो ।

केहिदिन अगाडी देखी म आफैले यस्ता घरेलु विवादहरूको सामना गर्नुपरिरहेको छ । श्रीमान श्रीमती बिचको सामान्य विवादले कतिसम्म उग्ररुप धारण गर्‍यो भने त्यहाँ मेरो निजत्व मेरो अस्तित्व र मेरो आफैले निर्माण गरेको सामाजिक हैसियत अस्वीकार्य भयो । मैले निर्माण गर्दै गरेको त्यो अस्तित्व मेरो निजी मात्र पनि थिएन मैले सिङ्गो परिवारको हैसियत लाई स्वाबलम्बी बनाउने प्रयास गरेकी थिएँ तर त्यहाँ पुरुष मानसिकता यसरी हाबी हुन पुग्यो कि बन्दै गरेको यौटा घरको जग बस्न लाग्दा लाग्दै भताभुङ्ग भयो ।

जबसम्म श्रीमानलाई स्वावलम्बी बनाउनको लागि सङ्घर्ष गरिन्छ तबसम्म मात्र पुरुषको नजरमा श्रीमती सही हुने अवस्था हुदोरहेछ । जब आफै स्वावलम्बी हुन्छु भनेर रहरहरूलाई अगाडी लगाउने हो भने आफ्नाहरूले नै सहन गर्न सक्दैनन् । पुरुषको सानो सानो सफलतामा खुसी भएर जिन्दगीका कति समय महिलाहरूले रमाएरै बिताएको देख्न सकिन्छ तर महिलाको सफलतामा पुरुष निराश बाहेक केही हुँदैनन् ।

हातमा सिप भएकै कारण र त्यो सीपलाई प्रयोग गरेर केही उपार्जन गरेर आफ्नै घर बलियो बनाउने रहरलाई अगाडी बढाएको कारण अरू सपनाहरू समेत भत्किनु जस्तो दुखदायी कुनै अवस्था हुँदैन । म आफू मेरो सिप को बलमा स्वरोजगार भएकोमा जो सबैभन्दा खुसी हुनुपर्थ्यो अथवा जसलाई समाजमा दह्रो सँग स्थापित गराउनलाई मैले आफूलाई स्वावलम्बी बनाउन लागिपरेकी थिएँ उहिब्यक्ति मेरो स्वाबलंबन पचाउन सक्ने अवस्थामा पुगेकै रहेनछन् ।

विदेशमा रहेका श्रीमान् प्रति महिलाहरू शङ्का गर्छन् त्यो यथार्थ कुरा हो तर त्यो शङ्का कति फितलो र कति कमजोर हुन्छ भने श्रीमानको एक बचन मिठो बोली, यौटा सानो हाँसो, अलिकति स्पष्टीकरण अथवा थोरै मायाको घुर्की मात्रले ती शङ्काहरूको निवारण हुन्छ । अधिकांश कुराहरूमा महिलाहरू पुरुष माथि स्थाई शङ्का गर्दै गर्दैनन् । मैले पनि कहिल्यै गरिन ।

तर म माथि के सम्म शङ्काहरू गरियो भने र कति सम्म सानो कुरामा विवाद भयो भने, पोष्टपेड सिम किन चाहियो मेरोलागि ? त्यसको बिल कसले तिर्‍यो अथवा पार्टी र जमघटमा को सँग फोटा खिचियो भन्ने सम्मका प्रश्नहरूले मेरो दिमागमा वचनको घन यसरी बजारियो कि फेरी उठेर त्यसरी शङ्का गर्ने व्यक्तिलाई पुनः सम्मान गरौँला भन्ने हिम्मत नै हरायो ।

यहाँ सम्म कि आफ्नो श्रीमान् स्थापित भए मात्र आफूलाई पुग्ने उसकै छत्रछायामा जीवन बिताउन सक्ने भएरै श्रीमानलाई स्वावलम्बी बनाउन आफूले गरेको सपोर्ट सम्झँदा त्यति मेहनत आफ्नै लागि गरेको भए अहिले अवस्था अर्कै हुन्थ्यो होला जस्तो लाग्छ कहिलेकाहीँ । तर आफूलाई शासक र श्रीमतीलाई नोकर सम्झने पुरुषहरू श्रीमतीले लगाएको गुनलाई झन् कसरी सम्झना सक्लान् र ।

महिलाले पुरुष माथि गर्ने शङ्कालाई समाजले हाँसोको विषय बनाउँछ जहिलेपनि । श्रीमतीले श्रीमान् माथि गरेका शङ्काहरू कहिल्यै गम्भीर हुँदैनन् त्यसको कारण भनेकै कुनै महिलाले आफ्नो लोग्नेलाई शङ्का त गर्छिन् तर त्यो शङ्कालाई गम्भीर विवाद सम्म लम्ब्याउने तागत महिलामा हुँदैन । या त आफू स्वाबलम्बी हुन नसकेको कारण त्यस्ता शङ्काहरूलाई मनमै दबाउनु पर्छ या छोराछोरीको भविष्य र आफ्नै भविष्य सम्झेर त्यस्ता शङ्काहरूमा आँखा चिम्लिनु महिलाहरूको बाध्यता नै हुन गएको छ ।

घर बाहिर निस्केर काम गर्नु, अरू सरहको व्यवसाय स्थापित गर्नु र आफ्नै सिपको भरमा आफ्नो खुट्टामा उभिनु कम चुनौती को काम होइन । हरेक सङ्घर्षशील माहिला या पुरुष जो कोहीलाई पनि आफ्ना र आफूले माया गरेकाहरूले आफूमाथि विश्वास गरिदिए अथवा आफूले गरेको काम मा स्याबास सम्म भनिदिए मात्र पनि यो भन्दा अझ धेरै काम गरेर देखाउन सक्थेँ भन्ने मन भित्र भित्रै लागिरहेको हुन्छ तर समाजको मानसिकता त्यो भन्दा धेरै फरक छ ।

कुनै पुरुषले नयाँ काम सिकेर त्यो सिप मार्फत आर्जन गर्न थाल्यो भने समाज खुसी हुन्छ तर त्यसरी नै कुनै महिलाले काम गर्न थाल्ने हो भने समाजले त गलत नजरले हेर्छ नै सबैभन्दा बढी माया गरिएको आफ्नै श्रीमानले समेत आजसम्मका यावत प्रेमका कुरालाई चटक्कै बिर्सेर आफ्नै श्रीमती माथि शङ्का गर्छ । यस्ता किसिमका शङ्कालु पुरुषहरू हाम्रो समाजमा प्रशस्तै छन् । त्यस्तै पुरुषहरूको बाहुल्यता छ समाजमा र त धेरै महिलाहरू आजको युगमा पनि आफ्नो निजत्वलाई घर भित्रै बन्धक बनाएर बाच्न विवश छन् ।

-दिभिशा शर्मा