दुई सय परिवारलाई खाद्यान्न सामाग्री

रमजान पर्वको अवसरमा कतार एयरवेजसंगको सहकार्यमा कतार च्यारिटीले काठमाण्डौका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

रमजान फूड प्याकेट डिस्ट्रीब्यूसन् कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीड़ित घरपरिवारलाई प्राथमिकता दिएर प्रति परिवार २५ केजी चामल, ५ केजी पिठो, ३ केजी चना, ३ केजी चिनी, ५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केही आवश्यकता भए पनि पुरा हुने बताए । दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउदै ति आवश्यकता पुरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए।

अरब देशको सबै भन्दा ठूलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए। कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।

कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर-समानहरु हस्तान्तरण गरेको छ ।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालै मात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २ हजार भद्ना बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।

कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।