मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने


मेलम्चीको पानी आजदेखि  सुरुङमा पथान्तरण गरिने भएको छ। गत असार १ गतेको बाढीका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

समितिका सिनियर डिभिजन इन्जिनियर पद्म बहादुर कुँवरले केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए । आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरण उद्घाटन गर्ने, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो। इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साता जति लाग्नेछ। गत वर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो।

बैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरिएकोमा त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

Logo