सुरिलो मुरलीको धुनभित्र प्रेम लामाको संघर्षको कथा

सुरिलो मुरलीको धुनभित्र प्रेम लामाको संघर्षको कथा


वरपरि गाडीको आवाज सडकमा सबै आफ्नै धुनमा, कोही आफ्नै तालमा हिँडिरहेका छन् त कोही आफ्नै व्यापार सम्हालिरहेका छन् । कसैलाई व्यापार गर्न फुर्सद छैन त कोही घाममा त्यसै बसिरहेका छन् । यस्तै व्यापार गर्ने मध्येका एक हुन् प्रेम लामा ।

मध्यदिन भैसकेको छ । पशुपति रोडको छेउमा ४० वर्षिय प्रेम मुरलीको धुन बजाइरहेका छन् । उनको धुनको खासै कसैले वास्ता गरिरहेका छैनन् । तर जसलाई मुरलीको धुन मन पर्छ, उनीहरु एकछिन् टक्क अडिएर भएपनि चाख दिएर सुन्छन् । अलि बुढापाकाले चाँही मज्जाले ध्यान दिएर उनले बजाएको धुन सुनिदिन्छन् । प्रेम मुरली कहीँबाट पैसामा लिएर हैन, आफ्नै हातले बनाउँछन् र सधैं त्यहीँ ठाउँमा ल्याएर बेच्छन् ।

काभ्रे घर भएका उनी करिब १० वर्ष पहिले काठमाडौँ आएका हुन्। अहिले उनी श्रीमती, २ छोरा र १ छोरीका साथ पाटनमा बस्दै आएका छन् । उनी बिहान खाना खाएर बस चढेर पशुपतितिर लाग्छन् । उनी मुरलीको साथमा गाडी पुछ्ने कपडा पनि बेच्छन् । 

उनले मुरली बजाउन गाउँघरका बाजेहरुबाट सिकेका हुन् । तर बनाउने कसरी उनलाई थाहा थिएन । बाख्रा गोठालो गर्दा उनको दिन मुरलीको धुनसँगै बित्थ्यो । धुन बजाउँदै गर्दा उनको मनमा आफैं मुरली बनाउने सोच आयो । उनी भन्छन्, “सानै बेलादेखि नै मेरो बाजेहरुले बजाउने हुनाले उहाँबाटै सिकेँ मुरली बजाउन । बनाउन चाँही कसैले सिकाएनन् । बाख्रा चराउन जङ्गलमा जाँदा होस् या घाँस काट्न, म सधैं मुरली बजाउँदै जान्थेँ । बजाउन जानेर मात्र भएन भनेर मेरो मनमा अब आफैं मुरली बनाउने सोच आयो । गाउँमा कसैले सिकाउँदैनथे । आफैँले जस्तो जानें त्यस्तै बनाउँदै गएँ । ६० वटा बनाएपछि बल्ल थाहा भयो यसरी हुँदो रहेछ भनेर । पहिला पहिला छाताको डाक्लोमा तिखो बनाएर प्वाल पारेर सिकेँ । विस्तारै सबै तरिकाका वाँसुरी बनाउन सिक्दै गएँ।”

मैले अहिलेका युवालाई सुहाउँदो मुरली बनाउन सकेको छैन । यो पनि बनाउने सोचमा छु । जान्नेहरुसँग सिकेर बनाएको भए अझै राम्रो हुन्थ्यो होला तर अहिले पनि सिकिरहेको छु। अहिले त सामान्य मुरली मात्र बनाउँछु।

उनी गाउँमा मुरली त बनाउन थाले । त्यति गर्दा मात्र नहुने रहेछ भन्दै पैसा कमाउन सपनाको शहर काठमाडौँ लागे । सुरुमा काठमाडौँ आउँदा ३५ रुपैयाँ लिएर आएका थिए । तर काठमाडौ आउन खर्च नपुगेर आधा बाटैबाट फर्केका थिए । उनी भन्छन्, “गाउँमा धेरै दुःख भएको हुनाले म काम खोज्नका लागि काठमाडौँ आएँ । काठमाडौँ आएर के काम गर्ने त्यो पनि थाहा थिएन । अनि मेरो एकजना ठुलोबाबा घर बनाउने ठाउँमा काम गर्नु हुने रहेछ । उहाँले नै मलाई पनि त्यहाँ काम लगाई दिनुभयो । अनि सुरु गरेँ ज्यामी काम गर्न ।”

प्रेमले ५ वर्ष त ज्यामी काम नै गरे अनि परिवार पनि काठमाडौँ नै लिएर आए । उनकी श्रीमती पनि काठमाडौँ आएर काम गर्न थालिन् र उनलाई पनि अलि सहज भएको भान हुन थाल्यो । पछि उनलाई ज्यामी काम गरेर मात्र नहुने रहेछ भन्ने सोच आयो । उनी भन्छन्, “५ वर्ष मैले ज्यामी काम नै गरें तर पछि यस्तो सोच आयो कि मुरली बनाउन पनि जानेको छु त किन नगर्ने भनेर त्यहीँ कामलाई प्राथमिकता दिएँ । गाउँघरका साथीहरुले पनि यति राम्रो सीप छ किन गर्दैनस्, गर , बरु बाँस ल्याउँन हामी सहयोग गर्छौं, भनेर हौसला बढाइदिए । त्यसपछि गाउँबाट बाँस मगाएर आफैँ मुरली बनाउन सुरु गरें । अहिले आफैँ बनाएर मुरली बेच्न थालेको ४ वर्ष भयो ।”

उनको व्यापार मुरलीमा मात्र सीमीत रहेन त्यसको साथमा गाडी पुछ्ने कपडा पनि बेच्न थाले । यी सबै सामान मिसाएर बेच्दा उनको महिनामा १० हजार कमाई हुन्छ तर पनि उनी खुशी रहेको बताउँछन् । भन्छन्, “पहिला अर्काको काम गर्नुपर्थ्याे। न त भनेको बेला छुट्टी मिल्थ्यो, न त खाना नै समयमा खान पाइन्थ्यो । अहिले त आफ्नै व्यापार गरिरहेको छु । यसैमा खुशी छु। महिनामा १० हजार जति हुन्छ यति भएपनि मलाई केही छैन। म यो काम गर्छु, मेरो श्रीमतीले अर्कै काम गर्छिन् २ जनाको कमाइले परिवार मज्जाले चलेको छ।” 

पे्रम अहिलेको आधुनिक तरिकाले मुरली बनाउन नसकेको गुनासो गर्छन् । भन्छन्,“मैले अहिलेका युवालाई सुहाउँदो मुरली बनाउन सकेको छैन । यो पनि बनाउने सोचमा छु । जान्नेहरुसँग सिकेर बनाएको भए अझै राम्रो हुन्थ्यो होला तर अहिले पनि सिकिरहेको छु। अहिले त सामान्य मुरली मात्र बनाउँछु । पछि पछि आधुनिक बनाउने सोचमा छु। तर भनेको जस्तो राम्रो बाँस पाइँदैन। आफैँले खेती गर्नुपर्छ। मलाई चाँही गाउँबाट आफ्नो मान्छेले पठाइदिनु हुन्छ।” 

यसरी गाउँबाट दुःख पाएर काठमाडौँ आएर ज्यामी काम गर्दा पनि उनको परिवार चलेकै थियो तर उनले आफ्नै सीपलाई प्राथमिकता दिएर पुनः मुरलीकै काम गर्न सुरु गरे। 

आफूले जानेको सीप कहिल्यै नहराउने र भविष्यमा पनि काम दिने पाठ आफ्नै हातले मुरली बनाएर बेच्दै आएका प्रेम लामा अहिले संघर्षका पर्याय बनेका छन्।

Logo