प्रचण्डको दाबी, ‘ओली, खनाल र नेपाललाई मैले नै प्रधानमन्त्री बनाएको हुँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गरेका छन् । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको स्पष्ट पारे ।

उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको जानकारी दिए ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण हुने घोषणा गरे । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन् । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको स्पष्ट पारे ।

कार्यक्रममै बोल्दै वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिए । अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिए । उनले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, “हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर, मर्कामा सहयोगी भयौ भने, जनताको दुख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ । ख्याल गर्नुहोस् । ख्याल गर्नुहोस् । यसअर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने । सुन्ने कम ।”

त्यस्तै नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका नेता पोखरेलले एकताबद्ध भएको पार्टी विचारमा स्पष्ट हुनुपर्ने धारणा राखे ।

विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उनले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिए । उनले विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकताबद्ध भएर ठुलो बनेपनि निर्णायक जीत हासिल गर्न नसक्ने तर्क गरे ।