को-को हुन् सिपीएलको ड्राफ्टमा पर्ने ४ नेपाली खेलाडी ?

क्यारेबियन प्रिमियर लिग (सिपीएल) को ड्राफ्टमा ४ नेपाली खेलाडी पर्न सफल भएका छन् । सिपीएलले सार्वजनिक गरेको पाँच सय ३६ खेलाडी मनोनित भएको ड्राफ्टमा ४ नेपाली खेलाडी पर्न सफल भएका हुन् ।

ड्राफ्टमा नेपालको तर्फबाट लेग स्पिनर सन्दीप लामिछाने, युवा अलराउण्डर दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र उदयमान ब्याट्सम्यान रोहित कुमार पौडेल अटाएका छन् । तर फाईनल खेलाडी छनौट भने २२ मे मा एक कार्यक्रमको आयोजना गर्दै लन्डनमा गरिने सिपीएलले जनाएको छ । गत वर्षमात्र सन्दीप सिपीएलमा आबद्ध भएका थिए ।

उनी सिपीएलमा पहिलोपटक प्याट्रियट्समा आबद्ध भएका थिए । उनले ५ हजार डलरमा प्याट्रियट्समा आबद्ध हुँदै सिपीएलमा डेब्यु गरेका हुन् । उनी आफ्नो पहिलो सिजनमै ५ खेलमा ७ विकेट लिन सफल भएका थिए ।

५ खेल खेलेका सन्दीपले १०५ रन मात्र खर्चिएका थिए । तर सोमपाल, रोहित र दिपेन्द्र भने पहिलोपटक विदेशी टी–२० क्रिकेट लिग खेल्ने तयारीमा छन् । सिपीएलले सार्वजनिक गरेको यसवर्षको ड्राफ्ट खेलाडीहरुको सूचिमा २० राष्ट्रका खेलाडीहरु अटाउन सफल भएका छन् । ११ जुलाईदेखि १६ अगस्टसम्म हुन लागेको सिपीएल वेस्टइन्डिजमा आयोजना हुँदैछ ।

यसपटक ड्राफ्टमा आन्द्रे रसेल, रसिद खान,जोफ्रा आर्चर, एलेक्स हल्स, सकिव अल हसन, जेपी डुमिनी, सुनिल नारिन र सिमोन हेटमेयर रहेका छन् ।