पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै दुई युवा पक्राउ

बुटवल । पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो ।

२८ वैशाख गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

रुपन्देहीमा आयोजित पत्रकार सम्मेलन ।

प्रहरी नियन्त्रणमा रहेका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीका श्रीमती शक्ति क्षेत्रीले स्वास्थ्य अवस्था नाजुक हुदै गएको भन्दै जीवन रक्षाको अपिल गरेकी छन् । गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।