राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्दा एमालेलाई फाइदा छ?

राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्दा एमालेलाई फाइदा छ?


नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टाअघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो। 

आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो। सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए। सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन्। त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ।

त्यस्तै एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ। बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

देशभरिका तालमेल सम्भव हुने पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ। परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरुलाई एमालेले सघाउने सहमति भएको छ। परिवार दलका उम्मेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

गठबन्धनमाथि आक्रामक हुँदै आएका ओलीले एक्लै गठबन्धनलाई तहलगाउने भाषण गरिरहे पनि एमाले सत्ता गठबन्धनविरुद्ध गठबन्धन गरेर अघि बढ्ने गरि छलफलमा केन्द्रीत रहेको देखिएको छ। 

‘गठबन्धन गरेर को को आउने हो। सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ’ ओलीले भनेका थिए तर वास्तविकता भने त्यस्तो देखिएको छैन। 

ओली सरकारका बेला उनलाई साथ दिएको महन्थ ठाकुर नेतृत्वको लोसपासहितका दलहरुसँग तालमेल गरेर अघि बढ्ने गरि छलफल गरेर अघि बढाइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन्। 

ओलीले मापाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई 'बिचराहरू' भन्दै गठबन्धन अलपत्र अवस्थामा रहेको पनि बताएका थिए । तर मंगलबार गठबन्धनको बैठकपछि उनको दल एमालेले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छ। तर, एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई भने कुनै पनि दल आफ्नो पार्टीको चुनाव चिह्न लिन तयार भएकाले त्यसलाई अनुमति दिएको दाबी गर्छन्। 

'एक्लै उठ्ने भन्ने नै थियो तर सूर्य चिह्न लिएरै उठ्छु भनेर आउँछ भने त्यसलाई हामीले अनुमति दिएका हौं' उनले भने । ती दलहरुले एमाले बाहेकको चिह्न लिएर चुनाव लड्न खोजे तालमेल नहुने उनले बताए । सत्ता गठबन्धनले गरेको तालमेलले आफूहरु नझस्किएको उनको भनाइ थियो। 

'त्यसलाई जनमतले पछि देखाउँछ अहिले त्यसमा केही भनिरहनु आवश्यक छैन' उनले भने, 'एमालेमा पछिल्लो समय आकर्षण बढिरहेको छ।'

राप्रपा र परिवार दलसँगको तालमेलले सत्ता गठबन्धनसँग भीड्न सक्छ एमाले ?

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा एमाले यसअघिको निर्वाचनमा पाएको जितलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्ष्यमा रहेको नेताहरुले दाबी गर्दै आएका छन् । तर त्यो उसका लागि सहज भने छैन । गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कति बढ्ने भन्दा घट्ने आँकलन भइरहेको छ। त्यसमा पनि गत निर्वाचनमा एमालेले जितको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मतले पराजित भएका थिए। अब सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ। 

अब, एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले फाइदा पुग्छ भन्ने प्रश्न उव्जिएको छ। यसमा पनि एमालेलाई खास लाभ हुने अवस्था भने देखिएको छैन। 

राप्रपा अध्यक्षमा पराजित भएपछि केही समय अघि मात्र राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कस्तो छ भन्ने देखिएको छैन। एकीकृत राप्रपा हुँदा नै कमजोर हुँदै गएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आँकलन शायद एमालेले पनि गरेको छैन होला। तर हेटौंडा लगायतका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ। केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले नगण्यरुपमा फाइदा पुग्न सक्छ। 

अर्को दल परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन। जनाधार नभएको र तत्कालिन नेकपा बनेपछि उक्त दलमा समाहित भएको परिवार दलको मतले तात्विक रुपमा एमालेलाई फाइदा हुने देखिएको छैन ।

Skip This
Logo