‘दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन’

‘दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन’


हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पहेँलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको।

छायाँनाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो पहिरन लगाएर ढुंगा कुटिरहेका महिला ठाउँठाउँमा देखिन्छन्। यही कामबाट उनीहरूले जेनतेन परिवार पालिरहेका छन्। यिनै महिला मध्येकी एक हुन् रन्नदेवी विक। उनलाई हरेक बिहान उठ्नेबित्तिकै आज कति गिट्टी कुट्न सकिएला भनेर चिन्ता हुन्छ। यहाँका कयौं परिवार महिलाको यही कमाइले धानिरहेको छ। आम्दानीको अर्को उपाय नहुँदा छायानाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाले गिट्टी कुटेरै जीवन धानिरहेका छन्। 

छायाँनाथ रारा नगरपालिका–५ की २६ वर्षीया रामति कामीले गिट्टी फोडेको आम्दानीबाट घर खर्च चलाउँदै आएको निकै बर्ष भइसक्यो। बिहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र फर्किन्छिन्। उनी सदरमुकाम गमगढी बजार आसपासका स्थानमा गिट्टी फोड्ने पुग्छिन् । 

उनले भनिन्, ‘गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी हुन्छ। यही आम्दानीबाट घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु। यस्तै काम गर्न थालेको करिब १० वर्ष भयो।’ 

उनी जस्तै ४० वर्षीया रन्नदेवी विकको पनि उस्तै पीडा छ । रन्नदेवीका त श्रीमानसमेत गिट्टी कुट्छन् ।  श्रीमान श्रीमतीले नै दिनभर गिट्टी कुट्दा पनि दुई छाक मुस्किलले टर्ने गरेको उनी बताउँछिन् । तर अन्य आयस्रोत नहुँदा उनीहरूको विकल्प पनि नभएको दुखेसो गर्छन्। रन्नदेवीले भनिन्, ‘हाम्रो रोजगारी नै यही हो । यसैलाई स्वरोजगार ठानेका छौं। श्रीमानश्रीमतीले महिनाको २० हजारसम्म कमाइ गर्छौं।’

यस्तै, बालमन्दिर आधारभुत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमा, काकीसँगै गिट्टी कुट्न बजार पुग्छिन् । तर उनी रहरले गिट्टी कुट्न भने आएकी होइनन् । उनी पढाई खर्च जुटाउन आएको बताउँछिन् । 

उनी आवश्यक कपीकलम किन्न खर्च यहीबाट जोहो गर्छिन् । उनले भनिन्, ‘आमाले पनि गिट्टी कुट्दै मलाई पढाईरहनु भएको छ, आमा एक्लैको कमाइले घरखर्च जुटाउन हम्मेहम्मे परेपछि म पनि आएको हो ।’ अरु साथीहरू जस्तै पढ्न, खेल्न मन भए पनि यता आएर काम गर्नु परेको उनले सुनाइन्। साथीहरू किताबकापी, झोला बोकेर विद्यालय गएको देख्दा रुन मन लाग्ने उनले बताइन्। 

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउनका लागि निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ।

परिवार चलाउन उनीहरू न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन्। अझ महिलाहरूलाई न्युन पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ। महिलाले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्रै पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन्। हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरू बताउँछन्।

Logo