कर्णालीका १० जिल्लाबाट पानी परीक्षण सुरु

कर्णालीका १० जिल्लाबाट पानी परीक्षण सुरु


कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।

 कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको उनले बताए । प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । 

प्रदेश राजधानी सुर्खेतमा २४ फागुनदेखि २६ सम्मा पानी परीक्षणको तालिम दिएर जिल्लामा कर्मचारी परिचालन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा खानेपानीको बजेट रहेकोमा दुइ हप्ता अघि मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा ल्याइएको थियो । पानी परीक्षण गर्नका लागि प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।

जिल्ला तहमै पानीको परीक्षण सुरु भएसँगै अब फोहर पानी पिउनुपर्ने बाध्यता विस्तारै कम हुँदै जाने अपेक्षा लिइएको छ । सबैको पहुँचमा पानी नभएको सन्दर्भमा गाउँ , गाउँमै गएर पानी जाँचको काम सुरु भएपछि सर्वसाधारणहरु खुसी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । जिल्लाहरुमा मेसिन पुगेसँगै पानी परीक्षणको माग अत्यधिक बढेको जिल्ला कार्यालयले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रिर्पोट पेश गरेका छन् । 

नयाँ खानेपानीका योजना निर्माणसँगै पानीको शुद्धतामा समेत मन्त्रालयले ध्यान दिएको मन्त्री सिंहले बताए । लगानी गरेपछि ,त्यसको हरेक कुरामा प्रतिफल आउनुपर्छ भन्ने हाम्रो चाहना रहेको उनले बताए । 

Logo