बागमती प्रदेशः एक वर्षमा भएका सवारी दुर्घटनामा ३६० जनाको मृत्यु

बागमती प्रदेशः एक वर्षमा भएका सवारी दुर्घटनामा ३६० जनाको मृत्यु


विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा ३६० जनाको मृत्यु भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा उनीहरुले ज्यान गुमाएका हुन्।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन्। घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ।

गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परि ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए। जेठमा भएका ८७ दुर्घटनामा परि १९ जनाको मृत्यु भएको थियाे भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ जना घाइते भएका थिए। साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन्। यस्तै भदौमा भएका ११८ दुर्घटनामा परि २२ जनाले ज्यान गुमाएका थिए। दुई सय ७८ जना घाइते भएका थिए।

असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए। कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन्। मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा ३६३ घाइते भएका छन्। पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ। ११४ दुर्घटनामा २२० जना घाइते भएका थिए। माघमा ३४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन्।

फागुनमा भएका १७५ दुर्घटनामा परि ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सोही दुर्घटनामा परि ३३५ घाइते भएका छन् ।

बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन्। यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उनले बताए। 

Logo