एफएनसीसीआई र एनसेलसहित निजी क्षेत्रको सहकार्यमा भोलि दरवारमार्ग महोत्सव हुने

एफएनसीसीआई र एनसेलसहित निजी क्षेत्रको सहकार्यमा भोलि दरवारमार्ग महोत्सव हुने


नेपाली नयाँ वर्ष २०७९ को अवसरमा भोलि वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा १५ औं दरवारमार्ग महोत्सवको आयोजना हुन लागेको छ।

महोत्सवको औपचारिक शुुभारम्भ मध्यान्ह १२ः३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुनेछ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ औपचारिक शुुभारम्भ हुनेछ ।

महोत्सवको चहलपहल भने विहान ११ बजेबाटै शुरु हुने अपेक्षा छ । यस सम्बन्धी सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले जानकारी दिएका छन् । 

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको मूल नारा सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । 

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरुसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ । 

चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति, स्वदेशी उत्पादनहरुको विशेष प्रदर्शन स्टलहरु र बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षणहरु रहनेछन् । 

महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुतिहरु रहनेछन् ।  

महोत्सवमा शारीरिकरुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । महोत्सवस्थलमा ६० वटा स्टल रहनेछन् ।

हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा निजी क्षेत्रको सहकार्यमा आयोजना हुन गइरहेको यस महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउने विश्वास गरिएको छ । 

महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ् पाटर्नरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेशनल लाईफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरी रहेका छन् । 

Logo