हाम्रो विरोध एमाले पार्टीसँग होइन ओलीसँग हो : इन्द्रबहादुर आङ्बो

हाम्रो विरोध एमाले पार्टीसँग होइन ओलीसँग हो : इन्द्रबहादुर आङ्बो


स्थानीय तहको निर्वाचन आउन अब २६ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै राजनीतिक गतिविधि पनि तीव्र बनेको छ । विशेष गरेर सत्ताधारी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकृकीत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा जाने निष्कर्षमा छन् । तर केही स्थान बाहेक अन्यमा भने गठबन्धनलाई चुनावी तालमेल सकसपूर्ण देखिएको छ । केन्द्रलेचुनावी तालमेल गर्ने निर्णय गरेपनि स्थानीय तहस्तरमा त्यसको अवज्ञा हुन थालेको छ । पर्सा, संखुवासभामा दलहरुले सहमतिमै केन्द्रको सहमति तोडेका छन् भने भरतपुरमा केन्द्रको निर्णय नमान्ने संकेत कांग्रेस महानगर कमिटीले गरिसकेको छ । केन्द्रको निर्णयको असर प्रदेश प्रदेशमा समेत देखिन थालेको छ । प्रदेशमा मात्र होइन जिल्ला जिल्लामा समेत गठबन्धनमा रहेका दलहरु आफ्नै शैलीमाउम्मेदवार छनोटदेखि चुनावी प्रचारप्रसारमा लागेका छन् । संखुवासभामा कांग्रेससँग तालमेल नहुने भएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सार्वजनिकरुपमै गठबन्धन खटपटमा रहेको बताए । उनको यो अभिव्यक्ति अहिले प्रदेश १ मा चर्चाको विषय बनेको छ । उनै आङ्बोसँग केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । 

केन्द्रमा गठबन्धन गर्ने भन्ने सहमति भएको बेला कि प्रदेश १ मा खटपट देखियो ?
खटपटभन्दा पनि कांग्रेससँग गठबन्धन गरेर उसको कार्यकर्ता व्यवस्थापनगर्नेे जिम्मा हाम्रो हैन । सबैभन्दा धेरै गठबन्धन कांग्रेसलाई नै चाहिएको छ र भएजति सबै सिट पनि कांग्रेसलाई नै चाहिने भए किन गठबन्धन गर्ने ? यो तादम्यता नै मिलेन नि गठबन्धन गर्दा सबैभन्दा धेरै सिट कांग्रेसलाई दिनुपर्छ भन्ने मेरो मान्यता होइन । कांग्रेसमा कम्युनिस्ट छुटेका छन् यिनलाई सक्नुपर्छ भन्ने भ्रम रहेछ । तर हामी कमजोर छैनौं । कांग्रेसको गुट व्यवस्थापन गर्ने जिम्मा हामीलाई छैन ।  कांग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतीपूर्ण छ । कांग्रेसमा गुटले गर्दा धेरै आकांक्षी देखिएका छन् । तर कार्यकर्ता व्यवस्थापन गर्ने जिम्मा त सम्बन्धित पार्टीको हो नि । उनीहरुलाई मात्र सिट दिने हो भने किन गठबन्धन गर्नु पर्छ र कम्युनिस्ट विभाजित हुँदाको फाइदा उठाउँछु भनेर कांग्रेसले जसरी सोचेको छ त्यो गलत हो ।

उसो भए प्रदेश १ मा गठबन्धन भत्कियो ?
हामी आफ्नो आत्मसम्मान गुमाएर कांग्रेसको जुठो पुरो खान जाने सोचमा छैनौं । माओवादीले स्थानीय तहमा १०७ सिट जितेको थियो । अहिले हामी सरकारमा छौं । जनताको काम गरेकाछौं । हामी त्यसै पनि २०० भन्दामाथि सिट जित्ने क्षमतामा छौं । गठबन्धन गर्दा पनि हामीले पाउने मोटामोटी त्यति नै हो । किन हामी त्यसका लागि आत्मसम्मान गुमाएर कांग्रेसको हात समाउने ?एमालेलाई हराएर सबै सिट कांग्रेसलाई दिने हाम्रो दायित्व होइन । हाम्रो विरोध एमाले पार्टीसँग होइन ओलीसँग हो ।

एमालेसँग मिलेर जाने भन्नु भएको हो ?
हाम्रो बिद्रोह ओलीको असंवैधानिक कदमविरुद्ध हो । सैद्धान्तिक संस्थागत हिसाबले एमालेसँग गठबन्धन गर्ने कार्यमा म छैन् तर स्थानीय आवश्यकता अनुसार मिलेर जान सकिन्छ । ओलीको व्यवस्था नै मास्ने कदमकाविरुद्ध हामी उत्रिएका हौं । यसले गर्दा कांग्रेसले गरेको यो मागप्रति माओवादीको सहमति छैन । जहाँजहाँ आफ्नो तागतले लड्न सकिन्छ त्यहाँ लड्ने हो । जसले जहाँ कमजोर महसुस गर्छन्, त्यहाँ बाम गठबन्धन होला काहीँ अन्य स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्न सकिन्छ । 

केन्द्रले गठबन्धन गर्ने भनेको छ । केन्द्रको निर्णय नमान्न मिल्ला त ?
केन्द्रको निर्णय मानेर नै गठबन्धन गर्ने पक्षमा हामी उभिएका छौं । सबै ठाउँ कांग्रेसलाई सुम्पिने सबै ठाउँ कांग्रेसलाई जिताउने भन्ने बुझाइ कांग्रेसमा भएपछि हामीले बोल्न बाध्य भएका छौं । हिजो जनताले फालेका शेरबहादुर देउवालाई उठाएर प्रधानमन्त्री बनाउने यही माओवादी र एकृकीत समाजवादी हुन् । यसलाई अवमूल्यनगर्ने खालको गतिविधि कांग्रेसले जुन ढङ्गले गरेको छ त्यो हामीलाई मान्य छैन । 

त्यसो भए सबै गठबन्धनमा नजाने त ?
कांग्रेसकेन्द्रको सर्कुलर र स्पिड अनसार गठबन्धन गर्ने तयार हुनुपर्यो । सबै ठाउँ कांग्रेसलाई जिताउने गरिहामी कांग्रेसको सहयोगी हुने र कांग्रेसको बैशाखी हुन हामी तयार छैनौं । त्यसो गर्दा कतै एमालेसँग गठबन्धन हुन्छ, कतै कांग्रेससँग गठबन्धन हुन्छ । कांग्रेसलाई ठूलो बनाउनु पर्ने र एमालेलाई हराउनुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त पनि होइन । हाम्रो विद्रोह आलीसँग हो । एमाले पार्टीसँग त होइन नि । 

केन्द्रले तपाईंको कुरामा सहमति जनाउला त ?
यो मेरो विचार हो केन्द्रमा पनि कुरा गरिरहेको छु । कि केन्द्रले जे निर्णय गरेको छ त्यो सबै अडिनु पर्छ कि, मैले भनेको कुरामा सहमति हुनुपर्छ । मान्नु पर्छ होइन भने मैले भनेको प्रकृयामा जानु पर्छ । मैले पार्टी अध्यक्ष तथा कांग्रेसकै नेतासँग कुरा गरेको छु । उहाँहरु छलफलमा हुनुहुन्छ । निकास केही आउँला । 

प्रदेश १ को स्थिति के छ ?
प्रदेश १ मा समग्रमा गठबन्धनको छलफल सकारात्मक दिशामा छैन । छलफल अगाडि बढाउन सकिएको छैन । प्रदेश १ का ९ सिट जितेका थियौं । अब ३० भन्दा बढी सिट जित्ने छौं । 

त्यसो भए प्रदेश १ मा अब मिलेर जाने अवस्था छैन ?
गठबन्धनले स्थानीय आवश्यकता अनुसार सबैसँग सहकार्य गर्ने बाटो खुल्ला गर्नु पर्छ । हामी आवश्यकता अनुसार गठबन्धन गर्ने तथा सिङ्गल-सिङ्गल भिड्नसमेत तयार छौं । शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीयस्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गरिदिऊँ । 

Logo