सगरमाथाको उचाइ मापन : प्राविधिक टोली चुचुरोतर्फ प्रस्थान गर्दै

काठमाडौं,

सगरमाथाको उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गर्ने तयारीमा छ ।

मौसमले साथ दिए उक्त टोली सोमबारदेखि मङ्गलवारसम्ममा चुचुरोमा पुग्ने अनुमान गरिएको छ । नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चार जनाले सगरमाथाको उचाइ मापन गर्दैछन् । उक्त टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई बिदाई गरेका थिए ।

मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराइरहेका थिए । मौसम अनुकूलन गराउने क्रममा एक महिनाको बीचमा आधार शिविरबाट तीन नम्बर क्याम्पसम्म पुगेका थिए ।

मौसम खुलेपछि मात्र माथि चढ्ने तयारी गरिएको थियो । सामान्यतया मे महिनाको दोस्रो हप्तादेखि सगरमाथा आरोहणका लागि मौसम उपयुक्त हुने गर्छ ।

नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका प्रमुख सुशील डंगोलले पथ प्रदर्शक शेर्पाहरूले सगरमाथा मापनमा प्रयोग हुने दुईवटा मेसिन माथि लगिसकेको जानकारी दिनुभयो । पथप्रदर्शकहरूलाई पनि मेसिन चलाउन सामान्य तालिम दिइएको उल्लेख गर्दै उहाँले प्राविधिक कर्मचारीको स्वास्थ्यमा समस्या आए पनि पथप्रदर्शकहरूले उक्त मेसिन सञ्चालन गर्न सक्ने तयारी गरिएको स्पष्ट पार्नुभयो ।

सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जिपिआर नामका मेसिन चुचुरोसम्म लग्न लागिएको हो । उक्त मेसिनमध्ये पहिलोले उचाइ र त्यहाँको अवस्थिति नाप्छ भने जिपिआरले हिउँको गहिराइको सूचना दिन्छ ।
गोरखापत्रबाट