नेपालबाट समुद्रसम्म इन्टरनेट केवल जोडिँदै

काठमाडौं,

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । नेपालको ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको हो ।

यसका लागि प्राधिकरणले दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्य परमर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।

गत चैत १८ गते ग्रामीण दूरसञ्चार परियोजनाका रूपमा समुद्र सतहसम्म अप्टिकल फाइबर विछ्याउन लागिएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पहिलोपटक भएको मागमा चार वटा आशयपत्र प्राप्त भएका थिए । त्यसमा योग्य परामर्शदाता नआएको भन्दै प्राधिकरणले गत मंगलबार अघिल्लो प्रक्रिया खारेज गरेको थियो ।

‘प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधा अन्तर्गत नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटको तार बिछ्याउन परामर्शदाता माग गरेको हो’, अर्यालले भने, ‘परामर्शदातले समुद्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको सम्भाव्यता अध्ययन गर्नेछ ।’ यसका लागि प्राधिकरणले चालु आवको बजेटमै ५० लाख रुपैयाँ छुट्याएको थियो ।
अन्नपूर्णबाट