प्रधानमन्त्रीद्वारा आँपको बिरुवा रोपेर बुद्धजयन्ती दिनको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपण गरेका छन्। २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नयाँ लुम्बिनी ग्राममा आपको बिरुवा रोपेका हुन्।

वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले म्युजियम अगाडि नेपालमा अहिलेसम्मकै सबभन्दा अग्लो राष्ट्रिय झण्डा फहराएका छन्। लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै हुने भएपछि लुम्बिनीमा त्यसको व्यापक तयारी गरिएको छ। कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउँदै छिन् भने प्रधानमन्त्री ओली शुक्रबारदेखि नै लुम्बिनीमा छन्।

अहिले मायादेवी मन्दिरदेखि शान्ति र्याली निकाली कार्यक्रमस्थलमा ल्याइएको छ। उद्घाटन कार्यक्रम अघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको अवलोकन गर्ने छन् ।