समीक्षा: मण्डनभेगको ऐतिहासिक चिनारी

(ज्ञानमणि नेपाल कालोटोपी)

काभ्रे जिल्लाको उत्तरी सिमाना मण्डनभेग अन्तर्गत साविकका ४ वटा गाविसहरु पर्दछन् । पछि स्थानिय संरचनामा फेरबदल गरिएपछि देउपूर भेगका ३ र मण्डनभेगका ४ वटा गाविसहरु समावेश गरेर हाल मण्डनदेउपूर नगरपालिका भएको छ ।

यहि नगरपालिकाको वडा नं. १० स्थित चण्डेनीमण्डनमा जन्मिएर त्यसक्षेत्रका साथै समग्र काभ्रे जिल्ला र देशकै शिक्षाक्षेत्रमा उल्लेखनिय योगदान दिन सफल व्यक्तित्व स्व.टंकनाथ शास्त्री (नेपाल) एक कुशल शिक्षासेवी हुनुहुन्थ्यो । उहाँले शिक्षाका अतिरिक्त राजनिती र समाजसेवाका अन्य क्षेत्रमा पनि उल्लेख्य योगदान पुर्याउनु भएको थियो । उनै समाजसुधारक स्व.शास्त्रीको जीवनीमा आधारित पुस्तक टंकनाथ शास्त्री निष्ठाका नौ दशकको गत बैशाख २१ गते राजधानीमा लोर्कापण गरियो ।

यो पुस्तक एउटा व्यक्तिको जीवनीमा आधारित मात्र छैन, यसमा मण्डनभेगका तत्कालिन समग्र गतिविधिहरु समावेश गरिएको छ । मण्डनभेगका अतिरिक्त काभ्रे जिल्लाको इतिहास र देशकै राजनितीक पृष्ठभूमि पनि पुस्तकमा अटाइएको छ ।

पुस्तक साहित्यका मात्र हुँदैनन् । साहित्य इतर पनि पुस्तकहरु लेखिन्छन् , जो कुनै समयका ऐतिहासिक दस्तावेजका रुपमा पछिसम्म पनि सुरक्षित रहने गर्छन् । पुस्तकलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विमोचन गरेका थिए । विमोचन गर्दै उनले काभ्रे जिल्लाका समाज सुधारक स्व. टंकनाथ शास्त्रीलाई आफूले पनि राम्ररी चिनेको र उहाँले देखाउनु भएको बाटो आफ्नो लागि पनि एउटा ज्ञान र अनुभवको बाटो रहेको समेत बताएका थिए । तत्कालिन राणाशासनकाल र पञ्चायतकालमा समाजसेवा गर्न र शिक्षालयहरु खोल्न अहिले जस्तो सजिलो थिएन । तैपनि टंकनाथ शास्त्रीले आफूले ठूलो चुनौती मोलेर पहिले आफू शिक्षित बन्नु भयो र अरुलाई पनि शिक्षाको उज्यालो देखाउनु भयो ।

टंकनाथ जुन राजनीतिक आस्थासँग रहेपनि उहाँको योगदान शिक्षा र समाजसेवामै उल्लेख्य रहेको थियो । टंकनाथ शास्त्री बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका इमान्दार योद्धा उहाँको जन्म वि.सं. १९८३ सालमा काभ्रेको मण्डनदेउपूर नपा १० ( साविकको चण्डेनीमण्डन गाविसमा ) मा भएको थियो ।

उहाँ आजीवन समाजसेवा, राजनिती र शिक्षा क्षेत्रमा सक्रिय रहनुभयो । उहाँको पहलमा काभ्रेमा मात्र नभएर जिल्ला जिल्लामा दर्जनौं विद्यालयहरु खोलिएका छन् । तत्कालिन पञ्चायती र निरंकुशतावादी शासनमा पनि वर्षौंसम्म जेल जीवन भोगेर पनि उहाँले अनवरतरुपमा काम गरिरहनु भयो । नेपाल परिवारमा जन्मिए पनि पढाईमा शास्त्री सम्मको ज्ञान आर्जन गरेपछि उहाँ शास्त्री उपनामबाट चिनिनु भयो र थरमा पनि शास्त्री नै लेख्न थाल्नु भयो । उहाँका समकक्षीहरु अहिले पनि ती कठिन दिनको स्मरण गर्नुहुन्छ । यी सबै विषयहरु प्रस्तुत पुस्तकमा समावेश गरिएका छन् ।

राणाकालिन तत्कालिन जर्जर परिस्थितीमा पढ्ने मौका पाउनु सर्वसाधारणका लागि पक्कै पनि जटिल अवस्था त थियो होला नै । त्यो समयमा पनि आफूले पढेरै शास्त्री बन्नु भयो र अरुहरुलाई पनि उहाँले शास्त्री र डाक्टर बनाउने जुन अभियान थाल्नुभयो। त्यसको जति बयान गरेपनि अपुरो हुन्छ । हुन त मरेपछि गुणगान गाउने नेपालीको बानी नै हो । तर, त्यतिखेरको पुस्ताले टंकनाथ शास्त्रीले शिक्षाक्षेत्रमा पु¥याउनु भएको योगदानको उहाँ जिउँदो हुँदा पनि प्रशंसा भने गरेकै थियो ।

तत्कालिन समयमा शिक्षा दिक्षा पायो भने जनताका छोरा बाठा हुन्छन् र आफ्नो शासन ढल्न सक्छ भन्ने राणाहरुको संकृण सोचाई कायम रहेकै बेलादेखि नै शास्त्रीको मनमा आफ्नो भेग र आफ्नो जिल्लामा विद्यालय र पाठशालाहरु खोल्ने चुनौतीपूर्ण विचारहरु सानै देखि खेल्थे । तिनै विचारहरुलाई काल्पनिकरुपमा खेलाई रहँदा उहाँले वास्तविकतामा पनि परिणत गर्नुभयो । यो एउटा ठूलो चुनौतीपूर्ण उपलब्धि नै थियो ।

२००२ सालको चैत्रमा उहाँले घरमा नै पुराण पाठ गर्नु भएपछि साथीभाईहरुले धेरै प्रशंसा गरेछन् । गाउँमा रहनुभएका साथीभाईहरुले आफ्ना केटाकेटीहरुलाई पनि पढाइदिन उहाँलाई अनुरोध गरेछन् । त्यसपछि चण्डेनी भञ्ज्याङमा रहेको एउटा पाटीमा गाउँभरिका केटाकेटी भेला पारेर उहाँले क, ख, र बाह्रखरी सिकाउन थाल्नु भएको रहेछ । यसरी सधैं सिकाउन सक्ने अवस्था त थिएन , त्यसैले गाउँमै पाठशाला खोल्न सके पछि सम्मको लागि सबैलाई शिक्षा दिलाउन सकिने थियो भन्ने सोच पलाएपछि यसको लागि उहाँले पहल शुरु गर्नुभयो ।

उहाँकै सक्रियताले मण्डनकै अकसिमा पहिलो पाठशाला खोल्ने कामको शुरुवात भयो । त्यसपछि मण्डनभेगकै अन्य ठाउँहरु श्रीचौर, हलेदे, मैदान, पाँचखाल लगायत सिन्धुपाल्चोक जिल्लाका भोटसिपा, पाटीगाउँ, टाकुरे र विन्ज्याल लगायतमा पनि पाठशाला खोल्ने कामले निरन्तरता पाएको थियो । ती पाठशालामा पढाउने पंडितहरुलाई स्थानियस्तरमा चन्दा उठाएर तथा धान, मकै दिएर समेत पढाउन लगाइएको थियो । यसबाट त्यतिबेलाको संकटकालिन अबस्थाको चित्रण प्रष्ट हुन्छ । पछि मण्डनभेगकै सबैभन्दा पहिलो विद्यालयको रुपमा वि.सं. २००८ सालमा उमाशह शिक्षालय स्कूल खोलियो । त्यतिबेला यो भाषा पाठशालाको रुपमा थियो । जतिबेला टंकनाथ शास्त्री यसका अध्यक्ष हुनुहुन्थ्यो । पछि यसलाई पक्की भवन बनाउने क्रममा पनि उहाँको सक्रियता उल्लेखनिय रहेको थियो ।

त्यसको केहि वर्षपछि मण्डनभेगकै महादेवस्थानस्थित पौवामा पनि स्कुल संचालन गरि त्यहाँ पनि पढाउने काम गर्नु भयो । वि.सं. २०१६ साल देखि २०२० साल सम्म बनेपाको आजाद स्कूलमा पनि पढाउनु भएको थियो । सोहि वर्ष पाँचखालको जोरपाटीमा रहेको पाठशालालाई सर्बमंगला विद्यामंदिरको नाममा विद्यालय खोल्ने काममा पनि उहाँको सक्रिय योगदान रहेको देखिन्छ । यसपछि शास्त्री नै यस स्कुलको प्रधानाध्यापक समेत बन्नुभयो । पछि सर्बमंगला र दुग्धेश्वर विद्यालयको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नुभएको थियो ।

त्यतिखेरको अवस्थामा पनि उहाँले मण्डनभेगमा पुस्तकालय खोल्ने कामको पनि थालनी गर्नुभयो । मण्डनका युवाहरुको भेला गराई उनीहरुको साथमा रहेर आफ्नै अगुवाईमा शास्त्रीले इन्द्रायणी पुस्तकालयको स्थापना गर्नुभएको थियो । शिक्षाक्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको कदर स्वरुप तत्कालिन सरकारले जिल्ला शिक्षा समितीको सदस्यमा र सो समितीले शिक्षक छनोट समितीको अध्यक्षमा मनोनयन गरेको थियो । गाउँगाउँमा पौढशिक्षाको थालनी गर्ने र शिक्षित युवाहरुलाई शिक्षकमा छनौट गर्ने काममा पनि टंकनाथको सक्रियता उल्लेखनिय रहेको थियो ।

शिक्षाक्षेत्रका अतिरिक्त काभ्रेको राजनीति, कृषि, धार्मिक र सडक निर्माण लगायतका क्षेत्रमा पनि उहाँको महत्वपुर्ण भुमिका रहेको थियो । अहिले हामी माझ उहाँ हुनु हुन्न । तर काभ्रे जिल्ला र मण्डनवासिहरुले उहाँको योगदानलाई कहिल्यै विर्सने छैनन् र विर्सनु पनि हुदैन ।

यो पुस्तक कुनै एउटा मात्र लेखकले लेखेको नभई करिव डेढसय भन्दा वढी लेखकहरुले टंकनाथ शास्त्रीसँग बिताएका संस्मरण, उहाँको योगदान, उहाँको व्यक्तित्व र तत्कालिन समयको समग्र राजनिती तथा विकाससँग सम्बद्ध रहेर तयार पारिएको हो । यसलाई योगमाया टंकनाथ प्रतिष्ठानले प्रकाशन गरेको छ । आकारका हिसाबले यो निकै ठूलो पुस्तक बनेको छ । ४८६ पेजको यस पुस्तकले जति कुरा उठान गरेको छ, ती सबैले समग्र काभ्रे जिल्लाको मण्डनभेगका पुराना कुराहरु खोतलेका छन् । पुस्तक पढ्दै जाँदा जो कोहि पनि ती पुराना र कठिन दिनहरु तर्फ फर्किन बाध्य हुनेछन् भने नयाँ पाठकहरुका लागि यो एउटा ऐतिहासिक र संग्रहणिय दस्तावेजको रुपमा रहने निश्चित छ ।

तत्कालिन समयको पूर्व १ नम्बर (हालको काभ्रे र सिन्धुपाल्चोक जिल्ला ) का सुधारक नेताका रुपमा रहनु भएका स्व.टंकनाथ शास्त्री शासन परिवर्तनदेखि सामाजिक क्रान्तिको पहिलो गतिमा होमिनु भएको थियो । उहाँकै नेतृत्व र अगुवाईमा काभ्रे जिल्लाले मुहार फेरेको भएपनि राज्यले उचित महत्व भने दिन सकेन ।

०७१ सालको फागुनमा करिव २० वर्ष पक्षघात रोगबाट थलिएसँगै उहाँको निधन भयो । उहाँको निधनले काभ्रे जिल्ला र देशले नै एउटा होनहार योद्धा गुमायो । यी सबै कुराहरु समेटिएको प्रस्तुत पुस्तक एउटा ऐतिहासिक पुस्तकका रुपमा रहने निश्चित छ ।