ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो

ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो


शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ। लमजुङको बेसीसहर नगरपालिका-३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रवर्द्धनमा चासो दिएका छन्। 

पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको अवसरमा गाउँशहरको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहभागितामा कार्यशाला गोष्ठी गरिएको थियाे । मन्दिरको दीर्घकालीन विकास र प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए।

संघीयता कार्यान्वयनसँगै दरबार संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मा लिने भने पनि हालसम्म कुनै गतिविधि सञ्चालन गरेको छैन। दरबारका भवनहरु जीर्ण छन् । गाउँशहरको पर्यटन प्रवर्द्धनका निम्ति दरबार संरचनाको मर्मत र पर्यटक लक्षित अन्य संरचनाहरू निर्माण गर्नुपर्ने भए पनि सरोकारवाला निकायको ध्यान नजाँदा ओझेलमा परेको स्थानीय सूर्यकुमार श्रेष्ठ बताउँछन्।

१६औं शताब्दीमा निर्माण गरिएका पुरानो संरचनामा इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको हो। शाह वंशीय राजाहरूको उद्गमस्थल ऐतिहासिक दरबारको प्रवर्द्धन भए पर्यटन क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ छ। लमजुङ दरबारको इतिहासलाई जीवित राख्न सरोकारवाला निकायले नै चासो दिनुपर्ने र दरबारको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए । उनले दरबारको हेरचाह, संरक्षण र विकास गर्ने काम पुरातत्व विभागको रहेकाे बताए ।

Logo