एमालेले जितेका आधा ठाउँमा हाम्रो दाबी छ: बेदुराम भुषाल

एमालेले जितेका आधा ठाउँमा हाम्रो दाबी छ: बेदुराम भुषाल


स्थानीय तहको निर्वाचन आउन २५ दिन मात्र छ । गठबन्धनमा रहेको पाँच दल महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमतिको पहलमा जुटेका छन् । देशभर निर्वाचनको वातावरण बनिरहेका बेला सहमतिको पहल जारी राखेको गठबन्धन आबद्ध दलमा भने खटपट सुरु भएको छ ।

गठबन्धन चुनावसम्मै टिक्ला कि भंग होला भन्ने आशंका पनि सुरु भएको छ । स्थानीय तहको निर्वाचनबारे संविधानको प्रावधान र कानुन बाझिएकाले चुनाव तोकिएको मितिमा हुने नहुनेमा प्रश्न पनि उठाउन थालिएको छ। गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाबीच मत बाझिएको छ। 

यसैबीच, पाँचदलीय गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.बेदुराम भुषालसँग पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।

गठबन्धनमा खटपट देखियो नि ?

गठबन्धनमा खटपट आएको साँचो हो तर सहमतिका लागि छलफल चलिरहेको छ। स्थानीय तह र केन्द्रमा पनि छलफल जारी छ। हिजो र आज पनि बैठक चालु छ। हामीले आफ्नो आन्तरिक र गठबन्धनभित्रको तयारी जारी राखेका छौं । सम्भावना ५०–५० प्रतिशत छ। धेरै सम्भावना मिलेर जाने भएको छ ।

पछिल्लो वार्तालाई आधार मान्ने हो भने सहमतिको सम्भावना कत्तिको छ ?

सम्भावना छ। अलिअलि गठबन्धन नरहने हो कि भन्ने प्रश्नहरू पनि उठेका छन् । दोहोरो सम्भावना छ। समग्रमा गठबन्धन हुन नसक्ला कि  भन्ने पनि छ। 

तपाईं त कार्यदलमा पनि हुनुहुन्छ, सहमतिका लागि कार्यदलले के-के गर्दैछ त ?

कार्यदलले नीतिगत कुरालाई जोड दिएको छ। हामी शीर्ष नेतासँग बसेर प्रस्ताव गरेका सहमतिका ७ वटा बुँदामा सहमतिका आधार प्रस्ताव गरेका छौँ। पालिकाको बारेमा रिपोर्टिङ गर्ने र छलफल गर्ने र सो छलफल प्रदेशमा पठाउने काम भएको छ। प्रदेशले त्यसका आधारमा निर्णय गर्ने भन्ने हामीले सर्कुलर पठाएका थियौँ।

तालमेल नभए एक्ले लड्न पनि हामी तयार छौँ । विद्रोह गरेर यहाँसम्म आएको पार्टी हो । अहिले हामी सरकारमा छौँ। जनताको काम गरेका छौँ। हामी चुनाव बहिस्कार गर्ने पार्टी होइन, चुनाव लड्ने पार्टी हो ।

सो अनुसार विभिन्न क्षेत्रमा छलफल चलिरहेको छ । अहिलेसम्ममा निर्णयमै पुगेको अवस्था कतै देखिएको छैन । त्यसको म्याद आजसम्म (वैशाख ५) गतेसम्मलाई हो। आज पनि विभिन्न प्रदेशको बैठक भएको जानकारी आएको छ। त्यसको निर्णय पर्खिरहेका छौँ। केन्द्रबाट महानगर र उपमहानगरको निर्णय गर्ने भन्ने कुरा छ। त्यसअनुसार छलफल भइरहेको छ। अहिले पनि हामी निरन्तर छलफलमा छौँ। निर्णयमा पुग्न बाँकी छ। 

पार्टी अध्यक्षले एक्लै लड्छु भन्ने खालको अभिव्यक्ति दिनुभएको छ। के समाजवादी पार्टीले एक्लै लड्ने आधार तयार गरेको हो ?

तालमेल नभए एक्ले लड्न पनि हामी तयार छौँ । विद्रोह गरेर यहाँसम्म आएको पार्टी हो । अहिले हामी सरकारमा छौँ। जनताको काम गरेका छौँ। हामी चुनाव बहिस्कार गर्ने पार्टी होइन, चुनाव लड्ने पार्टी हो । तालमेल भए गरेर लड्ने हो । हामीहरू जुन विद्रोह गरेर नयाँ बाटोबाट हिँड्यौँ, कसैले हामीलाई बोकिदिन्छ भनेर होइन। आफ्नै खुट्टामा हामी अगाडि बढ्छौँ भनेर हो ।

त्यसकारणले कसैको आश्वासनमा, कसैको भरमा एकीकृत समाजवादी चुनावमा जान्छ भन्नु भ्रम हो। यो सरासर गलत हो। हाम्रा सबै जिल्ला, जिल्लामा स्थानीय कमिटी निर्माण भएको छ। हाम्रो थुप्रै आधार तयार भएका छन् । चुनाव लड्नका निम्ति हामी कुनै पनि बेला तयार भएर बसेका छौँ। त्यसकारण हामीलाई कुनै समस्या होइन। हामीले उठाएको चाहिँ संवैधानिक व्यवस्थाको कुरा हो । हाम्रो संगठित शक्ति छ, त्यसैका भरमा हामी उम्मेदवारी दिएर चुनाव लड्न सक्छौँ। हामी जस्तो परिणाम आउँछ सोलाई स्वीकार गर्न तयार छौँ। 

पाँचदलीय गठबन्धन अगाडि बढेन भने माओवादीसँग मात्रै पनि तालमेल हुँदैन ?

हामी पाँचदलीय गठबन्धनभित्रै जाऊँ भन्ने पक्षमा छौँ। गठबन्धन बाहिर नजाऔँ भन्ने हो। तालमेलमा नजाऔँ भन्ने हो । पाँच दलमा स्वस्थ प्रतिस्पर्धा गर्ने भए पनि त्यो खुल्ला बनाऊँ भन्ने अवधारणा छ। त्यो अवधारणा अनुसार यदि पाँच दलमा भएन भने अरू दलबीचमा मात्रै पनि तालमेल हुन सक्छ। 

त्यो भनेको एमालेसँग मिलेर जाने भन्न खोज्नु भएको हो ?

होइन त्यो भनेको होइन । हामी पाँच दलमा मात्र हो । यो बाहेक अरूसँग मिलेर नजाऔँ भन्ने हो। यो संविधान र लोकतन्त्रको रक्षा गर्न बनाएको गठबन्धन हो । गठबन्धनको उद्देश्यभन्दा बाहिर गएर तालमेल नगर्ने । यो गठबन्धनभित्रै रहेर प्रतिस्पर्धा गर्नुपरे पनि तयार रहूँ भन्ने अवधारणा छ। त्यसो गर्दा कुनै ठाउँमा गठबन्धनभित्रै प्रतिस्पर्धा गरेर जाऊँ भन्ने भयो भने त्यो बेला चाहिँ गठबन्धनभित्रैका दलको फेरि उपगठबन्धन पनि बन्न सक्छ भन्ने हो । 

एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ। यसको खास आधार चाहिँ के हो ?

हामी भएर नै हिजो नेकपा एमालेको बहुमत आएको अवस्था हो। त्यही एमालेबाट विद्रोह गरेर निस्केर हामीले नयाँ शक्ति निर्माण गरेका छौँ । हामी एमालेको आधा शक्ति हौँ। जुन परिणाम एमालेको पक्षमा आएको थियो त्यस्तो आधा हामी हो। त्यो परिणामको आधा हिस्सा हाम्रो पनि हो । एमालेले जितेका आधा ठाउँमा हाम्रो दाबी हुन्छ किनभने त्यो हामीसहित भएर आएको परिणाम हो । त्यसैले ०७४ स्थानीय तहमा एमालेले जितेका स्थानीय तहको आधा हिस्सामा हाम्रो दाबी रहन्छ। 

पछिल्ला केही दिन निर्वाचनको विषयलाई लिएर संशय व्यक्त भइरहेका छन्। निर्वाचन हुने त सुनिश्चित नै छ नि हैन ?

अहिले दुई वटा कुरा भएको छ। हामीले जेठभित्र चुनाव गर्ने गरि मिति तोक्न सरकारलाई सुझाव दिएका थियौँ । यदि संविधानको धारा २२५ अनुसार स्थानीय तहका प्रतिनिधिहरूको कार्यकाल सकिएको ६ महिनापछि चुनाव गर्ने हो भने असोज २ भन्दा पछाडि जान सक्थ्यो तर, संविधानको धारा र स्थानीय तह निर्वाचन प्रावधानहरू बाझिएका छन् । बाझिएको अवस्थामा के गर्ने भनेर बहस भएकै हो । संविधानका धाराहरू २१५, २१६ र २२५ अनुसार स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल सकिएपछि चुनाव गर्नुपर्ने भन्ने जुन व्यवस्था छ, त्यसअनुसार गएको भए वास्तवमा असोज २ भन्दा पछाडि चुनाव जान सक्छ । मुद्दा अदालतमा छ । त्यो कारण अदालतको फैसलाले निर्वाचन रोकिन्छ कि भन्ने छ । त्यो मुद्दाका कारण कथमकदाचित निर्वाचन आयोगले संविधान अनुसार कार्यकाल पूरा गरेर आदेश दियो भने चुनाव सर्ने हो भन्ने एउटा पक्ष छ ।

अर्को पक्ष भनेको अहिले विप्लव समूहले हामीलाई पनि निर्वाचनमा सहभागी बनाउनुपर्‍यो भन्ने कुराहरू आएका छन् । सरकार तथा आयोगसँग पनि उनीहरूले वार्ता गरिरहेका छन् । र चुनावमा जाने माग गरेको छ । यो कारण पनि चुनाव सर्ने हो कि भन्ने आशंका भएको हो । के हुन्छ त्यो भन्न सकिन्न । 

पछिल्लो समय नेकपा एकीकृत समाजवादीभित्र पनि मनमुटाव आएको भन्ने कुरा छ, खास के हो ?

मनमुटावको कुरा होइन। नेताहरूले आफ्नो धारणा र सम्भावनाको कुरा गर्नु भएको हो । नेताहरूले सम्भावनाको कुरा व्यक्त गर्नु भएको हो । ठूलो पार्टीमा यो आन्तरिक छलफल हुनु स्वाभाविक प्रक्रिया हो ।  

Logo