गठबन्धनमा जुटेन सहमति, मंगलबार पुन: बैठक बस्ने

गठबन्धनमा जुटेन सहमति, मंगलबार पुन: बैठक बस्ने


स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको सिट भागबन्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकले सोमबार पनि सहमति जुटाउन सकेन । बैठक मंगलबार पुन: बस्ने गरी स्थगित भएको छ । 

स्थानीय निर्वाचनका सन्दर्भमा महानगर र उपमहानगरको सिट भागबन्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको सोमबारको बैठकमा सहमति जुट्न नसक्दा बैठक मङ्गलबारका लागि डाकिएको छ। सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहमति नहुँदा बैठक निष्कर्षविहीन भएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको नेताहरूले बताएका छन्। अहिलेसम्म ठोस सहमति भने हुन नसकको नेताहरूको भनाई छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा महानगर र उपमहानगरको सिट बाँडफाँडको विषयमा गम्भीर रुपमा छलफल भएको बताउँदै तालमेलका सन्दर्भमा छलफल सहमति नजिक पुगेको बताए। 

तालमेलका समग्र विषयमा समेत छलफल भएको भन्दै मन्त्री कार्कीले मंगलबार तालमेललाई अन्तिम रूप दिइने समेत दाबी गरे। ‘समग्रमा तालमेलका सन्दर्भमा बैठकमा छलफल भयो। हामी सबै ठाउँमा सहमति नजिक पुगेका छौ। महानगर र उपमहानगरको विषयमा छलफल गर्‍यौँ’, मन्त्री कार्कीले भने, ‘धेरै ठाउँमा हामी सहमति नजिकमा पुगेका छौ। सकारात्मक रुपमा अगाडि बढ्ने कुरामा गठबन्धनका नेताहरू विश्वस्त छौ। यसलाई अन्तिम रूप दिन भोलि मंगलबार पुनः बस्छौ।’

मन्त्री कार्कीले छलफल सकारात्मक भएको भन्दै गठबन्धनले निर्माण गरेको मापदण्डको वरिपरि रहेर नै निर्णयमा पुगिने बताए। गठबन्धनको बैठक मंगलबार ११स्३० बजे पुन बस्नेछ। महानगर र उपमहानगरको सन्दर्भमा गठबन्धनका पाँचै दलको आआफ्नै दाबी रहेका छन् । यसअघि सोमबार बिहान बसेको बैठकमा पनि महानगर र उपमहानगरको भागबन्डाका विषयमा दलहरूले आआफ्नै दावी पेश गरेका थिए। 

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकिरहेको छैन। सत्ता गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका कारण सहमति हुन नसकेको स्रोतको भनाई छ। उपमहानगरको सन्दर्भमा पनि कांग्रेसले ६ भन्दा बढी उपमहानगर पाउनुपर्ने दावी गर्दै आएको छ। 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक्एक वटा महानगरमा दाबी गर्दै आएका छन्।

गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चाबाट हिमाल पुरीलगायतका नेताहरू सहभागी भएका थिए।
 

Logo