गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपे: रामचन्द्र पौडेल

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपे: रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी काँपेको बताएका छन् ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी काँपेको बताएका हुन् । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्त्वहरूसँग हातेमालो गर्न पुगेको उनले बताए । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताए । लोकतन्त्र, नेपालको परिवर्तनहरूलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रूपान्तरण गर्नका लागि गठबन्धन बनेको उनले स्पष्ट पारे ।

उनले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरूसम्म एकताबद्ध भएर जानुपर्ने बताए । उनले भने – ‘अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिले पनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ । त्यसो भएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरू, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरू, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरू, र नेपाली जनताको भाग्यमाथि खेलबाड गर्ने षड्यन्त्रहरू, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरू सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । अहिले गठबन्धन जो छ  सत्ताको लागि होइन । व्यवस्थाको लागि गठबन्धन हो । यो कुरा बुझ्नुहोला । यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रूपान्तरण गर्नको लागि यो गठबन्धन हो । त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्त्वसँग पनि हातेमालो गर्न पुगेका छन् । यो भ्रष्ट तत्त्वहरू, प्रतिगामीहरू र अवसरवादीहरूसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्त्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन् । यिनले अहिले भर्खरै यही हप्ता गरेका घटनाहरूलाई याद गर्नुहोस् । कस्ता कस्ता तत्त्वसँग हातेमालो गरेर केपी ओली सहारा लिएर बच्न चाहिरहेका छन् । त्यसो भएको हुनाले यो गठबन्धन वास्तवमा लोकतन्त्रको लागि हो । यो गठबन्धन परिवर्तनको लागि हो । र यो परिवर्तनलाई बचाउनको लागि हो । यति कुरा बुझेपछि यो परिवर्तनलाई जोगाउने कुरामा सतर्क रहन र परिवर्तनलाई, म भन्न चाहन्छु  गठबन्धनका सदस्यहरूलाई पनि सबैले आ–आफ्नो हैसियत बुझेर, आ–आफ्नो दायित्व बुझेर स्थानीय निर्वाचन, आउँदा चुनावहरू पनि सफल पार्नको लागि एकताबद्ध भएर जानु छ । र नेपालमा लोकतन्त्र साकार पार्नुछ ।’

उनले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पूर्णता दिनुपर्ने बताए । उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरूलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताएका छन् ।

Logo