नेकपाले आफु निकटका पत्रकारलाई धुम्बाराहीमा बोलाएर सम्झायो

काठमाडौं । सत्तारुढ दल नेकपाले आफु निकटमा पत्रकारहरुसँग छलफल गरेको छ । नेकपा मुख्यालय धुम्बाराहीमा बोलाएर नेकपाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे छलफल गरेको हो ।

उक्त विधेयकका विषयमा नेकपाले आफु निकटका पत्रकारहरुलाई सम्झाई बुझाई गरेर पठाएको हो । छलफलमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल र योगेश भट्टराई लगायत उपस्थित थिए ।

कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरु पनि सहभागी थिए । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिँदै आएका छन् ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि सरकारले ल्याएको विधेयकको विपक्षमा छन् । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघको आन्दोलन नरोकिने पत्रकार महासंघले बताउँदै आएको छ ।

नेकपाकै समर्थक रहेका पत्रकारहरुसमेत सरकारले ल्याएको विधेयकको विपक्षमा उभिएपछि सत्तारुढ नेकपाका नेताहरुले आफू निकटका पत्रकारहरुलाई सम्झाउन सुरु गरेको हो । छलफलमा सहभागी मन्त्री बास्कोटाले विधेयक फिर्ता नहुने अडान राखेको भेलामा सहभागीहरुले बताएका छन् । तर, त्यसमा परिमार्जन गर्नुपर्ने भएमा छलफल गर्न सकिने मन्त्री बास्कोटाको भनाई थियो ।

सरकारले ल्याएको उक्त विधेयकको विरोधमा नेकपा निकटकै पत्रकारहरु पनि छन् । उनीहरुले तत्काल त्यो विधेयक फिर्ता लिन माग गर्दै आएका छन् । आफु निकटकै पत्रकारबाट पनि विरोध सुरु भएपछि नेकपाले पत्रकारलाई सम्झाएको हो ।

नेकपाले आफु निकटका पत्रकारलाई धुम्बाराहीमा बोलाएर सम्झायो