तनहुँको गत निर्वाचन फर्केर हेर्दा ,यस्तो थियो मत परिणाम

तनहुँको गत निर्वाचन फर्केर हेर्दा ,यस्तो थियो मत परिणाम


गत स्थानीय तहको निर्वाचनमा जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गबहादुर थापा ६५ मतान्तरले विजयी भए । जिल्लामा सबैभन्दा कम मतान्तरले स्थानीय तहको प्रमुखमा जित हासिल गरेका थापाले दुई हजार ८७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर गुरुङले दुई हजार ८१४ मत पाएका थिए । माओवादी केन्द्रका भुवनसिं गुरुङले ७९१ मत ल्याए । 

उपाध्यक्षमा कांग्रेसकी विमला थापा विजयी भइन् । जम्मा एक मतान्तरले उनी विजयी भएकी हुन् । थापाले दुई हजार ८६० र उनकी प्रतिस्पर्धी एमालेकी सवित्रा न्यौपानेले दुई हजार ८५९ मत पाएका थिए । माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिएकी शुसिला नेपालले ७१२ मत पाइन् ।  

शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसका किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेबाट मेयरका उम्मेद्वार बनेका रामचन्द्र उपाध्यायले आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मत पाएर विजयी भइन् । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाइन् । शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । मेयर कांग्रेस र उपमेयर माओवादीले बाँडेका थिए । 

व्यास नगरपालिकामा भने एमाले र माओवादीको गठबन्धन थियो । तैपनि मेयर र उपमेयर दुवै पदमा कांग्रेस भारी मतान्तरले विजयी भयो । मेयरमा वैकुण्ठ न्यौपानेले १३ हजार ५६ र  उपमेयरमा मिरा जोशीले १३ हजार २६० मत पाएर विजयी भए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका शंकरनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाए । उनी हाल नेकपा एमाले विभाजन भएर बनेको एकिकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । माओवादीको कोटाबाट उपमेयर बनेको अतिन्द्रकेशरी न्यौपानेले निकै कम मत पाए । नौ हजार ७८३ मतान्तरले पराजित न्यौपानेले तीन हजार ४७७ मत पाएका थिए ।

भानु नगरपालिकामा पनि कांग्रेसले नै मेयर र उपमेयर जितेको थियो । मेयर उदयराज गौली र उपमेयर आशा थापा निर्वाचित भएका हुन् । गौलीले नौ हजार ५०५ र थापाले नौ हजार ३१८ मत पाएकी थिइन् ।  निकटम प्रतिष्पर्धी एमालेबाट मेयरको उम्मेद्वार बनेकी भगवती न्यौपानेले आठ हजार ९९९ र उपमेयरका उम्मेद्वार ऋषिराम पन्तले आठ हजार ८१६ मत पाएका थिए । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी गिता शाहीले एक हजार १९५ मत ल्याएकी थिइन् ।

बन्दीपुर गाउँपालिकामा माओवादीले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । अध्यक्षमा पुर्णसिंह थापाले दुई हजार ८६३ र उपाध्यक्षमा करुणा गुरुङले दुई हजार ६८४ मत पाएर विजयी भए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर खत्रीले दुई हजार ४२१ र सविना गुरुङले दुई हजार ४६२ मत पाए । नेकपा एमालेका आनन्दमान जोशीले एक हजार ९३२ र शान्ति कुँवरले एक हजार ९८५ मत ल्याएका थिए ।

अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनले ऋषिङलाई नेपाली कांग्रेसको पकड सावित गराएको थियो । अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा कांग्रेसले क्लिन स्विप पारेको थियो । अध्यक्षमा राजेन्द्र कृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा निर्वाचित भए । दुवै जनाले दोब्बर बढी मतान्तरले जित हासिल गरेका हुन् । श्रेष्ठले चार हजार ९४१ र थापाले चार हजार ९९६ मत पाएका थिए । दोस्रो स्थानमा रहेका एमालेबाट अध्यक्षको उम्मेद्वार बनेका भुपालसिं थापाले दुई हजार ४८९ र उपाध्यक्षको उम्मेद्वार मधुमाया श्रेष्ठले दुई हजार ३७७ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार खुमाया आलेको ५७२ र उपाध्यक्षका उम्मेद्वार गोमबहादुर रानाले ६९३ मत प्राप्त गरे ।

आँबुखैरेनी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष कांग्रेसकै उम्मेद्वार विजयी भएका हुन् । गिरबहादुर थापाले दुई हजार ५८९ र पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मतभारका साथ जित हासिल गरे ।  निकटम प्रतिद्धन्दी एमालेका सन्तबहादुर केसीले दुई हजार २४२ र मिना अधिकारीले दुई हजार १६५ साथै माओवादी केन्द्रका प्रेमबहादुर गुरुङले एक हजार ५८४ र रजनी चुमानले एक हजार ४६९ मत पाइन् । 

म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा कायम रह्यो ।  अध्यक्षमा मायादेवी रानाले चार हजार  ५४२  र उपाध्यक्षमा बालकृष्ण घिमिरेले चार हजार ५९२ मत प्राप्त गरे । एमालेका श्रीप्रसाद श्रेष्ठले तीन हजार ४६१ र रत्नादेवी घिमिरेले तीन हजार १५४ मत ल्याए । माओवादीबाट अध्यक्षका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याएका थिए ।

घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेले जितेका थिए । अध्यक्षमा रनबहादुर रानाले तीन हजार ७३० र उपाध्यक्षमा सरस्वती घिमिरेले तीन हजार ७१३ मत पाएका थिए ।  कांग्रेसका अध्यक्षका उम्मेद्वार विष्णुविर थापाले दुई हजार ८१९ र उपाध्यक्षकी उम्मेद्वार निर्जला अर्यालले दुई हजार ७६२ मत ल्याएका हुन् । माओवादीबाट भुवनसिंह विकले ६१९ र जमुना थापाले ५६८ मत पाए ।

यसापालि जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिने छन् । गठबन्धन भर्सेस एमालेको भिडन्त हुँदा अघिल्लो स्थानीय तहमा एमालेले कमजोर हुन सक्छ । अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा घिरिङमा बाहेक अरु सवै स्थानीय तह गठबन्धनको पोल्टामा पर्न सक्छ ।  तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन् । तिनै नयाँ मतदाता निर्णायक बन्ने ठम्याइ छ । र अर्कोतर्फ कांग्रेसबाट कारबाहीमा परेको गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेको छ । यसले कांग्रेसको मतान्तर घटाएर एमालेको बढाउने देखिन्छन् ।

आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । निर्वाचन आयोगले एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर, एक लाख ३२ हजार ९४४ मत मात्रै खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । 

Logo