राष्ट्रपति भण्डारीसँग गेब्रेयससको शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग गेब्रेयससको शिष्टाचार भेट


नेपालको तीन दिने भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकोमा महानिर्देशक डा.टेड्रोसलाई धन्यवाद दिएकी थिइन् । 

महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा.टेड्रोसले राष्ट्रपति भण्डारीलाई डब्ल्युएचओले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान बारे जानकारी गराएका थिए ।

महानिर्देशक डा.टेड्रोसले नेपालको स्वास्थ्य नीति बारे चासो राखेका थिए । उनले डब्लुएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको ढकालले बताए ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री  खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत नेपाल आएका छन्  । अधानोमसहितको टोली यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ । 

Skip This
Logo