गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेको पनि टुंगिएन टिकट

गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेको पनि टुंगिएन टिकट


गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् ।

सत्ता गठबन्धनको भागबण्डा मिलेको छैन भने दलहरुले उम्मेदवार पनि टुंग्याउन सकेका छैनन् । दलहरुको अलमलले मनोनयन ढिला भएको हो । सकेसम्म अझै गठबन्धनको प्रयास गर्ने र नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरुको तयारी छ ।

त्यसैले आइतबार रातिसम्म प्रयास जारी राखिने कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । ‘आज अझै प्रयास गर्छौं । नेताहरुसँग छलफल गर्छौं । मलाई लाग्छ, गठबन्धन कायम हुनेछ,’ उनले भने, ‘त्यसैले गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छौं ।’ जिल्लाबाट रिपोर्ट झिकाएर बैठकमा ब्रिफिङ भैरहेको छ । 

गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवार छनोट प्रक्रियासमेत अलमलिएको छ । जिल्ला तहमा गठबन्धन बलियोसँग हुन नसकेपछि तालमेल टुट्ने देखिएको छ । गोरखामा कांग्रेस(माओवादीको मात्रै तालमेल गरिएकोमा केन्द्रले हस्तक्षेप गरेपछि अझै अन्योल सिर्जना भएको छ । अरु जिल्लामा पनि कुनै टुंगो छैन । आन्तरिक बैठक बसिरहेका छन् ।

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ गठबन्धन संस्कृति नभएका कारण समस्या भैरहेको बताउँछिन् । ‘हाम्रोमा गठबन्धनको संस्कृति छैन । त्यसमाथि फरक विचारधारा भएका पार्टीबीच गठबन्धन हुँदैछ,’ उनले भनिन्, ‘केही सकस भैहाल्छ । हामी मिलाउने प्रयासमै छौं ।’

जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले बैठकमा छलफल मात्रै भएको तर निर्णय हुन नसकेको बताए । गठबन्धनको प्रदेशस्तरीय बैठक शनिबार राति पनि बसेको थियो । अहिलेसम्म ८५ मध्ये कुनै पनि पालिकामा गठबन्धन मिलेको छैन । यद्यपि महानगरमा भने केन्द्रबाट भागवण्डा टुंग्याइएको थियो ।

गठबन्धनको मात्र होइन, एक्लै चुनावी तयारी गरेको एमालेमा पनि टिकट टुंगिएको छैन । शनिबार ३० पालिकाको मात्रै टिकट वितरण गरेको एमालेले आज बाँकी टिकट बाँड्ने छ । केन्द्रीय नेताहरु काठमाडौंमै भएकोले टिकट वितरण रोकिएको हो ।

Skip This
Logo