इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा आर्सनल विजयी


इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा म्यानचेष्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले शीर्ष चारको सम्भावना जिवितै राखेको छ । 

म्यानचेष्टर युनाइटेडलाई सुरुवातदेखि नै दबाबमा राखेको आर्सनलले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । आर्सनलको जितमा ग्रानित जाका, बुयाको साका र नुनो टेभारेसले गोल गरेका थिए । पहिलो हाफको तेस्रो मिनेटमै युनाईटेडको खराब रक्षात्मक प्रदर्शनको फाइदा उठाउँदै नुनो टेभारेसले आर्सनललाई १–० को अग्रता दिलाए । २३ औ मिनेटमा युनाईटेडका फुलब्याक डालोटको प्रयास बारमा ठोक्किन पुग्दा युनाईटेडले बराबरी गर्ने मौका गुमायो । त्यसलगत्तै २७ औं मिनेटमा आर्सनलका लागि एनकेटियाले गोल गरेपनि भारले अफसाइड घोषित गरेको थियो ।

पहिलो हाफको ३० औं मिनेटमा आर्सनलका खेलाडी साकालाई युनाईटेडका फुलब्याक टेलेसले फल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्दै साकाले आर्सनललाई २–० को अग्रता दिलाए । तर आर्सनलको दोस्रो अग्रता लामो समय टिक्न सकेन । 

पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोले म्याटिचको पासमा राम्रो फिनिसिङ गर्दै युनाईटेडलाई खेलमा फर्काउने कोशिस गरेका थिए ।  म्यानचेष्टर युनाइटेडका लागि १०० प्रिमियर लिग गोल गर्न सफल भएका क्रिस्टियानोले ४ विभिन्न प्रतियोगितामा १०० गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगमा सबैभन्दा पाको उमेर(३७ बर्ष) मा १०० गोल गर्ने रेकर्ड पनि उनकै नाममा छ । 

च्याम्पियन्स लिग, राष्ट्रिय टोली, ला लिगा र प्रिमियर लिगमा १०० गोल गर्ने उनी संसारकै एकमात्र खेलाडी बनेका छन् । युरोपियन फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्डसमेत बनाएका रोनाल्डोले यसअघि तीन विभिन्न क्लबमा १०० गोलको रेकर्ड बनाईसकेका छन् । रियल मड्रिडको सर्वाधिक गोलकर्तासमेत रहेका क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा १०१ गोल गरेका थिए भने म्यानचेस्टर युनाईटेडमा १४० गोल पुरा गरिसकेका छन् । रोनाल्डोले यो सिजन अझै केही खेल खेल्न बाँकी छ ।

खेलको पहिलो हाफ २–१ को स्थितिमा सकिएको थियो । पहिलो हाफमा २–१ ले पछि परेको म्यानचेस्टर युनाईटेडले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो हाफको ५५औं मिनेटमा नेमन्या माटिचले युनाईटेडका लागि पेनाल्टी जितेका थिए, तर आर्सनलविरुद्व क्याप्टेनको आम ब्यान्ड लगाएका ब्रुनो फर्नानडेसले उक्त मौका गुमाएपछि खेल बराबरी गर्ने अवसर म्यानचेस्टरले गुमाउन पुग्यो । 

पेनाल्टी गुमाएको ५ मिनेट बित्न नपाउँदै क्रिष्टियानो रोनाल्डोले अर्को गोल गरेका थिए । तर उक्त गोल भारले अफसाइड गरिदिए । खेलको ७० औँ मिनेटमा युनाईटेडको रक्षात्मक कमजोरीको अवसर उठाउदै आर्सनलले शानदार गोल गरेको थियो । ग्रानित जाकाले साकाको पासमा सुन्दर गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए । शीर्ष चारको दौडमा आर्सनलले महत्वपूर्ण तीन अंक बटुल्दा, म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना लगभग गुमाएको छ । 

च्याम्पियन्स लिग खेल्नका लागि लिगको टप ४ मा स्थान बनाउने टिमले च्याम्पियन लिग खेल्न पाउँछन् ।

इपीएल अंक तालिका 

टिमहरु                         खेल                अंक
१ म्यान्चेस्टर सिटी            ३३                   ८०
२ लिभरपुल                    ३२                   ७६
३ चेल्सी                          ३१                   ६२
४ आर्सनल                     ३३                   ६०

Logo