जंगली च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु

लमजुङ,

जंगली च्याउको सेवनबाट लमजुङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकसाता अघिको च्याउ सेवनले गम्भीर बिरामी क्व्हालोसोंथर गाउँपालिका ९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्रीको आइतबार बिहान ४ बजेतिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार उहाँको छोरा १२ वर्षीय मन्तोष क्षेत्री र छिमेकीका छोरा १० वर्षीय साजन क्षेत्रीको मृत्यु भइसकेको छ । सुलबहादुरका श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकी काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुर बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।