दैलेखमा सत्ता गठबन्धनको भागबण्डा टुंगियो

दैलेखमा सत्ता गठबन्धनको भागबण्डा टुंगियो


वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ  ।

नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ  भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।

लामो समयदेखि सहमतिको प्रयास भए पनि आज मात्रै भागबण्डा मिलेको हो । औपचारिक घोषणा भने हुन सकेको छैन । गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । यस्तै महाबु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको स्रोतले जनाएको छ ।

यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसलाई भाग पर्दा नेकपा एकीकृत समाजवादी भागमा उपाध्यक्ष परेको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।

यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै भैरवी गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रलाई भाग पर्दा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने स्रोतले जनाएको छ । त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित जस्तै भएको बताइएको छ ।

Logo