आज सातौँ भूकम्प स्मृति दिवस, ०७२ वैशाख १२ गतेकाे सम्झना

आज सातौँ भूकम्प स्मृति दिवस, ०७२ वैशाख १२ गतेकाे सम्झना


आज वैशाख १२ गते । ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको ७ वर्ष पुरा भएको छ। यस भूकम्पमा ९ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो । २४ हजार नागरिक घाइते र अपांग बने। ८ लाखभन्दा वढी घरहरु भत्किएका थिए। करिव ७ हजार स्कूल र २ हजारभन्दा वढी धार्मिक र ऐतिहासिक सम्पदाहरु ध्वस्त भए। देशका १७ जिल्लामा वढी मानवीय र भौतिक क्षति भयो भने ३१ जिल्ला प्रभावित भए।

विनासकारी भूकम्पको ७ वर्ष पूरा हुँदासम्म पूनर्निर्माण भने सकिएको सरकारले दाबी गरेकाे छ। यद्यपी पूनर्निर्माणका काम केही अझै बाँकी देखिन्छ । यससमय अवधिमा सानाठूला हजारौं पराकम्प गए । चार रेक्टर स्केलभन्दा माथिका मात्र ७५० जति भूकम्प गएका छन् । अहिले पनि जाने क्रम रोकिएको छैन ।

उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प यता बन्दै गरेका संरचना भने भूकम्प प्रतिरोधी बनिरहेका छन् । तर भूकम्पपछि भएका राजनीतिक फोहोरी खेलहरुले भने हुनुपर्ने जति पुनर्निर्माण हुन सकेन ।

यस्तो छ भूकम्पको इतिहास

भूकम्पको इतिहास केलाउने हो भने ७ रेक्टर स्केलको भूकम्पलाई ठूलो भूकम्पको रुपमा हेरिन्छ । वि.सं. १८९० सालमा ठूलो भूकम्प गएको इतिहास छ। त्यतिबेला मापनकेन्द्र नभएपनि यो निकै शक्तिशाली भएको इतिहासमा उल्लेख छ । यसले बनेपा, साँगा र भक्तपुरतिर नराम्रो क्षति पारेकाे थियो । त्यसको १०० वर्षपछि वि.सं. १९९० माघ २ गते संखुवासभाको चैनपुर केन्द्र भएर ८.४ रेक्टर स्केल मापन भएको भूकम्प गयो । त्यसका जिउँदा साक्षी अहिले पनि छन् । सानातिना भूकम्प त दैनिकजसो गइरहन्छन् ।

०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टरको भूकम्प गयो । रेकर्ड अनुसार ७ भन्दामाथिका भूकम्प ८० वर्षभन्दा कम वर्षमा गएका छैनन् । तर ६ रेक्टरभन्दा माथिका भने आइरहेका छन् । 

वि.सं. २०४५ साल भदौ ५ गते गएको ६.४ रेक्टरको भूकम्पमा परि ७२१ जनाको मृत्यु भएको थियो । यसले पनि ठूलो भौतिक क्षति गरेको थियो । यस्तै २०६८ असोज १ मा गएको भूकम्पले पनि धेरै क्षति पुर्याएको थियो । यसैले ७०/८० वर्ष अगाडि ठूला भूकम्प फेरि नआउने अनुमान गर्न सकिएपनि प्राकृतिक विपति कतिबेला आउँछ यसै भन्न सकिंदैन ।

Logo