पाँचथर सामुहिक हत्याकाण्ड: ४ दिनअघि मात्रै रहस्यमयी घटना भएको खुलासा

हत्या गरिएका धनबहादुर शेर्माको घरमा गत जेठ ३ गते रहस्यमयी घटना भएको खुलेको छ । धनबहादुरको घरमा बसेका साना तथा घरेलु विकास कार्यालयका टोलीलाई खुवाईएको खानामा सिसाको धुलो मिसाईएको पाइएको हो ।

उक्त खाना खाएपछि टोलीका कर्मचारीहरु समेत विरामी परेका थिए । खानामा सिसाको धुलो कसले मिसायो भन्ने बारे अझै खुल्न सकेको छैन । गाउँमा प्रशिक्षण दिन पुगेका उक्त टोली धनबहादुरको घरमा बसेका थिए ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले यो घटना भएको एक साता नबित्दै धनबहादुरको परिवारमाथि बर्बर हत्या हुनु रहस्यमयी भएको बताएकी छन् । सोमबार राती भएको सामुहिक हत्याकाण्डमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि घटनास्थल प्रस्थान गर्न लागेको छ ।  एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको हो ।

पाँचथर सामुहिक हत्याकाण्ड: ४ दिनअघि मात्रै रहस्यमयी घटना भएको खुलासा