पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’

पाँचथर । सोमबार राति दुई परिवारको ९ जनाको विभत्स हत्या भयो । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भयो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएका प्रहरीले जनाएको छ । यस्तो घटना कसले किन गर्यो ? भन्ने प्रमुख प्रश्न उठेको छ ।

यसको जवाफ अहिलेसम्म कसैले दिनसकेको छैन् । प्रारम्भिक अनुसन्धानबाट दुई परिवारबीचको विवाद मुख्य कारण देखिएको छ ।
बमबहादुरका कान्छा ज्वाई मानबहादुर मोखिम पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जसका कारण घटना थप रहस्यमय बनेको छ । यसअघि उक्त घटनामा उनको संलग्नता रहेको आशंका गरिएको थियो । मृत फेला परेका मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । स्थानीयका अनुसार श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिईन् ।

वडाअध्यक्ष हस्तराज फियाकले दुबै परिवार साधारण किसान भएको र बाह्य दुश्मनी नभएको बताए । ‘यो परिवारसँग बाहिरका मान्छे कसैको दुश्मनी थिएन,’ फियाकले भने, ‘परिवारै सक्ने किसिमले हत्या भएको छ, यो परिवारसँग निर्मम हुनुपर्ने ठूलो कारण केही छैन ।’
बमबहादुरसँग उनका ज्वाई मानबहादुरको मनमुटाव थियो । कान्छी छोरी र ज्वाइँबीच बारम्बार झगडा हुन्थ्यो । उनीहरु दुवैजना सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगेका थिए । त्यही विषयलाई लिएर श्रीमान–श्रीमतीसँगै माईतिपक्षसँग पनि मानबहादुर झगडा परिरहन्थ्यो ।

त्यो झगडा मिलाउने मामलामा धनराज र बमबहादुर यदाकदा सक्रिय हुने गरेका थिए । तर, छोरी–ज्वाइँको झगडा साम्य नभएपछि दुबै केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए । सोही विवादले यो रुप लिएको हुनसक्ने वडाअध्यक्ष फियाकको भनाई छ । भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले हुलिया तयार पारेको थियो । जुन हुलिया ज्वाई मानबहादुरसँग मिलेको थियो ।

उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए । श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साँढु भाई र ससुराको परिवार सबैलाई सखाप पारेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले उनीमाथि आशंका गरेपछि उनी झुण्डिएको अवस्थामा मृत फेला परे । जसका कारण घटना थप रहस्यमय बनेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको छ ।

गएराति भएको घटनामा ४१ वर्षीय धनराज शेर्मा, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको थियो । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।

प्रहरीको प्रारम्भिक निष्कर्षले पनि ‘डिभोर्स’ नै देखाएको छ । घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सुक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो ।

पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’