झापामा कांग्रेस र माओवादीको मात्र गठबन्धन

झापामा कांग्रेस र माओवादीको मात्र गठबन्धन


झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने अन्य स्थानीय तहमा गठबन्धन हुन सकेको छैन । 

नेकपा एसले झापाका अधिकांश स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष आफ्नै पार्टीको उम्मेदवार उठाएको छ । ‘ठूलाले पेल्न खोजे । त्यही कारण हामीले आफ्नै उम्मेदवार उठाएका हौं,’ नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मीले भने, ‘हामी आफ्नै उम्मेदवारबाट हाम्रो मत संकलन गर्छौं ।’

कांग्रेस र माओवादीको दम्भका कारण गठबन्धन कायम रहन नसकेको जसपाका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले बताए । प्रदेशभर गठबन्धन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । 

‘शक्ति गठबन्धनसहित सहअस्तित्वको गठबन्धन हुनुपर्ने हो । तर, ठूला भनाउँदा दलले पेल्न खोजे,’ उनले भने, ‘प्रदेशभर स्थानीय आवश्यकताअनुसार मात्र गठबन्धन भएको छ ।’

झापामा कमल गाउँपालिकामा भने चार दलीय सत्ता गठबन्धन भएको छ । जिल्ला भरका अन्य स्थानीय तहमा भने कांग्रेस–माओवादी गठबन्धन भएको छ । दमकमा कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेका छन् । जिल्लभर माओवादीले कुनै स्थानीय तहमा प्रमुख पाएन । उसले जिल्लका अधिकांश स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा चित्त बुझायो ।

कांग्रेस-माओवादीले अधिकांश स्थानीय तहमा सिट बाँडफाँट सके पनि चार पालिकामा भने आपसमा प्रतिस्पर्धा हुने भएको छ । झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकवल गाउँपालिकामा साझा उम्मेदवार उठाउन कांग्रेस-माओवादी चुकेका छन् । शिवसताक्षी–१ र बाह्रदशी-१ मा समेत साझा उम्मेदवार खडा हुन नसकेर आपसी प्रतिस्पर्धा हुने भएको छ । 

Logo