दिप्रुङ चुईचुम्मा अध्यक्षमा दुई स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी दर्ता

दिप्रुङ चुईचुम्मा अध्यक्षमा दुई स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी दर्ता


खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई र उपाध्यक्षमा रमा कट्वाल, एमालेबाट अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमीराज राई र उपाध्यक्षमा अम्बिका राई, राप्रपाबाट अध्यक्षमा कल्पना राईको मनोनयन दर्ता भएको छ ।

स्वतन्त्रबाट अध्यक्षमा बिश्वराज राई र सुरेश राईको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताए । ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेद्वारी दिएका छन् । 

खोटेहाङमा गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुने

खोटेहाङ गाउँपालिकामा गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अध्यक्षको पदमा २ र उपाध्यक्षमा २ को उम्मेद्वारी परेको छ ।

गठबन्धनकार्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए । एमालेकातर्फबाट अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जराको उम्मेद्वारी परेको छ ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित कविता अध्यक्षको उम्मेद्वार बनाइदा एमालेबाटै अध्यक्षमा निर्वाचित प्रदीप राई बाहिरिएका छन् । 

यी हुन बराहपोखरीका उम्मेद्वार 

बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा र उपाध्यक्षमा निशाना राई, एमालेबाट अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राईको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट अध्यक्षमा दिर्घबहादुर मगरको उम्मेद्वारी परेको छ । 

यस्तै, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट भुवलराज राईको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिएकी छन् । स्वतन्त्र उम्मेद्वार मगर एमाले बराहपोखरी गाउँपालिका कमिटि अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष बनेका बञ्जरा पुःन दोहोरिन उम्मेद्वार बनेका हुन् । यसअघि एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा यसपल्ट अध्यक्षको उम्मेद्वार बनाइएकी हुन् ।

अघिल्लो निर्वाचनबाट अध्यक्ष र उपाध्यक्ष बनेर काम गरेर बञ्जरा र मगर आगामी कार्यकालका लागि एउटै पदमा लड्न लागेका हुन् । 

Logo