कर्णाली प्रदेशः बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल

कर्णाली प्रदेशः बजेटका प्राथमिकतामाथि विषयगत मन्त्रालयसँग छलफल


आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ। 

कर्णाली प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो। यही क्रममा आज जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल भएको छ। 

आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषयवस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ। चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धि र समीक्षाको विषयमा समेत छलफल भएको छ।

यस्तै, आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम, प्रस्तावित नीति तथा कार्यक्रम, प्रदेश विशेषा तथा रुपान्तरणकारी कार्यक्रमहरू, अपेक्षित उपलब्धि र नतिजाका विषयमा समेत छलफल भएको छ ।

कर्णाली प्रदेशले फुलकोट कर्णाली, जगदुल्ला जलाशययुक्त जलविद्युत आयोजना लगायतका आयोजनामा प्रदेशले शेयर लगानीको विषयसमेत विशेष प्राथमिकता बजेटमा रहनेछ। नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाको सम्भाव्यता तथा विस्तृत डिजाइनका विषयमा समेत बजेटका प्राथममिकता पाउने छलफलमा बताएको छ।

खानेपानी र सरसफाईसम्बन्धी, सौर्य उर्जा, वायु ग्यासलाई प्राथमिकता दिइने छलफलमा जानकारी गराएको छ। साना सहर केन्द्रित खानेपानी, खेतीयोग्य जमिनमा नविनतम प्राविधिको प्रयोग गरि सिंचाइ सुविधा पुर्याउने कुरामा समेत जोड दिइनेछ। 

बाढी पहिरो तथा प्रकोपबाट प्रभावित भएका ठाउँमा संरक्षण गर्न समेत ध्यान दिने बताएको छ। कर्णाली, भेरी र शारदा लगायतका नदी किनारमा सिंचाइ सुविधा पुर्याउने कुरामा जोड दिइने जानकारी गराएको छ।

Logo