उदयपुरका जनप्रतिनिधि दोहोरिन खोज्दै

उदयपुरका जनप्रतिनिधि दोहोरिन खोज्दै


आसन्न स्थानीय तह निर्वाचनमा उदयपुरका अधिकांश पालिकाका जनप्रतिनिधिले दोहोरिन उम्मेदवारी दिएका छन् । उदयपुरमा चार नगरपालिका चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । जसमा ४ नगरपालिका प्रमुख र २ उपप्रमुख र ४ गाउँपालिका मध्ये २ प्रमुख, १ उपप्रमुख र दर्जनौँ वडाध्यक्ष तथा सदस्य दोहोरिन चाहेका छन् । 

त्यसैगरी सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी फेरि निरन्तरता दिन उम्मेदवारी दिएका छन् । गत २०७४ को चुनावमा नेकपा एमालेबाट चुनाव जितेका उनी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरोधमा माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । 

पार्टी पोलिटव्युरो सदस्य तथा प्रदेश १ अध्यक्षसमेत रहेका उनले सत्ता साझेदार दलबीचको गठबन्धनबाट उम्मेदवारी दिएका छन् । गठबन्धनमा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीको उम्मेदवारी दिएको छ । खड्का पार्टीको त्रियुगा नगर कमिटी अध्यक्ष हुन् ।  

त्यसैगरी चौदण्डीगढी नगरपालिका नगर प्रमुखमा खगेन्द्र राई, उपप्रमुखमा रिताकुमारी चौधरी, कटारी नगरपालिका नगर प्रमुखमा ज्ञानेन्द्र श्रेष्ठ र बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा, लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उदयपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट मानबहादुर केप्छाकी मगर, रौतामाई गाउँपालिका उपाध्यक्षमा कुमारी ज्यु ठकुरी दोहोरिने भएका हुन् ।

त्यसैगरी कटारी नगरपालिकाको उपप्रमुखमा भीमकुमारी राउतको नाम पार्टीले नगर प्रमुखमा सिफारिस गरे पनि पुरानै व्यक्तिले टिकट लिएपछि उनले ‘बागी’ उम्मेदवारी दर्ता गरेकी छिन् । प्रमुखमा मात्र होइन, उपप्रमुख र वडाध्यक्षमा पनि दोहोरिने लर्को छ । टिकट नपाएपछि लिमचुङबुङकी उपाध्याक्ष रमिला राईले स्वतन्त्रबाट उपाध्यक्षमा बागी मनोनयन दर्ता गराएकी छिन् ।

वडा नम्बर १ का वडाध्यक्ष भीमबहादुर राई, २ का भविन्द्रकुमार राई र ५ का वडाध्यक्ष केशरकुमार खड्काले उम्मेदवारी दोहोर्‍याएका छन् । माओवादीका राईद्वयलाई पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीमा गए खड्कालाई केही दिनअघि मात्र पार्टीमा भित्र्याएर एमालेले टिकट दिएको हो ।  

त्यसैगरी त्रियुगा नगरपालिकाका १६ मध्ये ९ जना पुरानै वडाध्यक्षहरुले मनोनयन दर्ता गरेका छन् । माओवादी नगर कमिटी उपाध्यक्ष रहेका १६ नम्बर वडाध्यक्ष मानबहादुर राईलाई पार्टीले पुनः टिकट दिएको हो भने कांग्रेस नगर सभापति रहेका १० वडाध्यक्ष प्रकाशकुमार खड्का पनि पार्टीबाटै उम्मेदवार भएका हुन् । 

कांग्रेसकै तर्फबाट ५ मा जितेका उद्धवसिंह थापा, एमालेबाट जितेका ४ नम्बरका सुवास निरौला, एमालेबाट जितेर हाल एसमा गएका ३ नम्बरका अवधेशप्रसाद चौधरी, एमालेकै २ नम्बर वडाध्यक्ष घमानसिंह खत्री र कांग्रेसबाट अघिल्लो पटक जितेका १ नम्बर वडाध्यक्ष मनोज चौधरी दाम्रो पटक उम्मेदवार बन्न पाएका हुन् ।

त्यसैगरी चौदण्डीगढी नगरपालिकामा १ का वडाध्यक्ष रोहित तामाङ, २ का सन्तोष सुबेदी, ३ का पर्शुराम राई, ७ का तेजराज तिम्सिना, ८ का कार्यवाहक अध्यक्ष, ९ का प्रकाश राउत र १० का रामकुमार खड्काले पनि दोहोरिनका लागि उम्मेदवारी दिएका छन् । जसमध्ये २ का सुबेदी माओवादीका र ९ का राउत एमाले बाहेक अन्य सबै काँग्रेसबाट टिकट लिएर दोहोरिन खोजेका हुन् ।

गठबन्धन गर्ने विषयमा कुरा नमिलेपछि एक्लै लड्ने निर्णयमा पुगेको काँग्रेसले ४ नम्बर वडाध्यक्ष चरणकुमार राईलाई भने टिकट दिएन । माओवादीबाट जितेका ५ नम्बर वडाध्यक्ष देवनारायण चौधरी र माओवादीकै ६ नम्बर वडाध्यक्ष कमलध्जव राईले भने एकीकृत समाजवादीसँग गठबन्धन गर्नु पर्दा टिकट गुमाएका हुन् । तर गठबन्धनका कारण टिकट नपाएपछि ६ नम्बर वडाध्यक्ष राईले भने नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्लाका ७५ वटा वडा रहेको उदयपुरमा यसरी दोहोरिन खोज्ने अनुहारहरू थुप्रै भेटिएका छन् । दोहोरिन खोज्ने जनप्रतिनिधिहरूले नारा भने फरक–फरक बनाएका छन् । 

अधिकतरले पार्टीको निर्देशनले उम्मेदवारी दिएका छन् भने कतिपयले पहिले गरेको अधुरा काम सम्पन्न गर्न नारा अघि सारेका छन् । धेरै जसोले भने जनताको सेवा गर्न नै आफू पुनः दोहोरिएर आउन चाहेको प्रतिक्रिया दिएका छन् । जनताको सेवक भएर काम गर्नु पर्ने जनप्रतिनिधि हो । जनप्रतिनिधिहरू दोहोरिन खोज्नुको कारण भने सेवा सुविधाप्रतिको आकर्षण भएको विश्लेषकहरू बताउँछन् ।

 

Logo