भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, के हाेला नेपालमा ?

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, के हाेला नेपालमा ?


भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ। आइतबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ।

यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ। विगतमा डिजेलभन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ। यस्तै, मट्टितेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ।

यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयले निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ।

यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा एक अर्ब १९ करोड हुने जनाएको छ । मूल्य स्थिरीकरण कोषमा रहेको रकम विगतको घाटा पूर्ति गर्दा सकिसकेको र मे महिनामा निमगलाई भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्न १० अर्बभन्दा बढी रकम अपुग हुने निगमले जनाएको छ।

Logo