समीक्षाः ‘माया महल’ मा एकछिन्

बनेपा तीनधाराका रबिन्द्र आशिष मूलतः गीतकार हुन् । योभन्दा बढी गजलकार । मुक्तक र कविता लेखनमा पनि उत्तिकै क्रियाशील व्यक्तित्व । मलाई लाग्छ, विशेष गरी कविता विधामा उनले आफ्नो परिचय फराकिलो बनाउँदै गएका छन् । २०४२ सालमा ‘आजको आकाश’ भाग १ संयुक्त कविता सङ्ग्रह प्रकाशित गरेर उनी सङ्ग्रहमा देखिएका हुन् । यसले २०६४ दोस्रो अङ्कका रूपमा निरन्तरता पायो । उनले शैलीका गीतहरू २०७१, मायाले बोलाउँछ भाग १ र २ शैली, गीति एल्बम सार्वजनिक गरिसकेका छन् । ‘माया महल’ २०७५ मा प्रकाशित उनको पहिलो गजल सङ्ग्रह हो ।

यस ‘माया महल’ सङ्ग्रहभित्रका अधिकांश गजलमा राष्ट्र, समाज र व्यक्ति संस्कारको चिन्तन भेटिन्छ । शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रका सम्बन्धित निकायको कामसँग उनी असतुष्ट छन् । गजलमार्फत् गुनासो गर्दछन् । अझ यसो भनौँ, राज्यका सरोकारवाला निकाय जसले जनताका समस्या सुनेर पनि नसुनेझैँ गर्छन् । तिनलाई सुनाउनुको कुनै अर्थ छैन र पनि नसुनाई भएकै छैन । कविको कलम यस्तो विसङ्गति हेरेर बस्न सक्दैन । गजल रचना गर्दा विविध विषयमा उनको ध्यान पुगेको देखिन्छ । छरिएका विषयवस्तु गजलभित्र समेटिएका छन् । गजल पढ्दै गर्दा जुनसुकै पाठकलाई उनको देशप्रेमका झट्काले छुन्छ । देशसँग जोडिएको आफ्नो अस्तित्व बचाउन उनी गजलमा देश लेखिरहने प्रण गर्दै यसरी पोखिन्छन् –

देश रहे म रहनेछु रहनेछौँ हामी सबै
आफैँलाई बिर्सिएर मेरो देश लेखिरहेछु  पृ.१२

मानिसले गर्ने धेरै किसिमका घमण्डहरूमध्ये सुन्दरता पनि एक हो । सुन्दरता हेर्ने दृष्टिकोणमा फरक छ । रूपको सुन्दरता क्षणिक हुनाले यसमा घमण्ड गर्नु व्यर्थ ठान्दै कवि लेख्छन् –

हेर्दाहेर्दै फूलहरू पनि त झरेर गए पृ. ३०

दार्शनिक हिसाबले गजलको यो हरफ निकै महत्वपूर्ण रहेको छ । आँखाले देख्ने सुन्दरता केवल क्षणिक हुनाले मानिस मनको सुन्दर हुन आवश्यक छ । सङ्ग्रहभित्रका कतिपय गजलहरू प्रेमिल छन् । गजल पढ्दै जाँदा मायाका बाछिटाले भिज्न पाउँदा पाठकहरूमा आनन्दको महसुस हुन्छ ।

आऊ हामी रमाउँदै माया बाँढौँ केही पल
चिसो मन तातो हुन्छ पीरतीले सेकेपछि पृ. ११
चुनौती नहोस् के अर्थ जिन्दगीको
मायामा हर मुस्किल मलाई प्यारो छ पृ. १३

कसै न कसैलाई दिलमा राख्नु स्वभाविक हो । प्रेम गरेपछि दिलमा राखिन्छ । मुटु साटासाट गरिन्छ । प्रेम गर्छु भन्न जति सजिलो छ गरेर टिकाउनमा चुनौती छ । प्रेममा चुनौती आउँछ, सामना गर्नुपर्छ । जोगिनुपर्छ ; होसियार हुनुपर्छ भन्दै कवि लेख्छन् –

मायालाई फूल देख्नेहरू सावधान
रेटिनुहोला फूलमा पनि धार हुन्छ पृ.१५

अठारौँ गजलको पहिलो शेरमा गजलकारले आजसम्म कर्मशीलको मात्र इतिहास रचिएको हुँदा कर्म गर्नुपर्छ, भनेका छन् भने अन्तिम शेरमा भाषण गर्न माहिर नेताहरू राम्रा कामका लागि अग्रसर नभएको गुनासो गरेका छन् ।

खुसी खोज्दा दुःख मिल्छ फूल खोज्दा काँडा
पाएर नि के काम भो नखोजेको जिन्दगानी पृ.१९

१७ औँ गजलको अन्तिम शेरमा बिरामी आमा र जहान परिवार छोडेर विदेश पस्नु आजको युवा पुस्ताको बाध्यता बनेको अभिव्यक्ति छ । त्यस्तै तेइसौँ गजलको पहिलो शेरले विदेशिएका परिवारको समस्या उजागर गरेको छ । वैदेशिक रोजगारीका क्रममा कतिपयका घर उजाडिएका छन् । जहान परिवारको बिचल्ली भएको छ । गजलकारले यिनै प्रशङ्गलाई गजलका माध्यमबाट ठाउँठाउँमा उठाएका छन् । आजको सन्दर्भमा विदेश जानु र पैसा कमाउने सपना साकार नहुनु एउटा पाटो हो भने अर्काे पाटो छोराहरू उतै हराउँने गर्छन् । हराउनुमा पनि विविध कारण छन् । वैदेशिक श्रमको इजाजत लिएर सरकार जति दङ्ग परे पनि देशको लागि यो अभिशाप हो । यसका लागि बयालिसौँ गजलको यो एक हरफ काफी छ–

छोरो एक्लै बाउको तस्बीर हेरेर रुने गर्छ पृ.४२

यस्तै सङ्ग्रहभित्रको ४३ औँ गजलमा पनि देशप्रेमको भाव समेटिएको छ । पहिलो शेरमा आफ्नै देशको छात्ती नकुल्चिन आग्रह गरिएको छ भने अन्तिम शेरमा देशप्रति बफादार हुनुपर्ने आशय यसरी व्यक्त गरिएको छ–

माया गर्छु भन्थ्यौ परे मर्छु भन्थ्यौ
कसरी हुन सकेको तिमी अन्तर्घाती पृ.४३

सङ्ग्रहभित्रका उनका कतिपय गजलमा नेतृत्वप्रति व्यङ्ग्य भाव प्रस्तुत गरिएको छ । सिद्धान्त विपरीत चल्ने हाम्रा नेताहरूलाई जनताबाट पनि खबरदारी भइरहनुपर्छ भन्ने गजलकारको आशय बुझिन्छ । चुनाबको बेला उनीहरू जति सक्रिय रहन्छन् कुर्सी पाएपछि त्यसको विपरीत कर्तव्यप्रति उदासिन हुँदै जाने गरेको पाइन्छ । यसको उदाहरणका लागि तलको गजललाई लिन सकिन्छ –

आजभोलि चलिरहेछ चाल सुस्तरी सुस्तरी
उसले देखाउन थाल्यो कमाल सुस्तरी सुस्तरी पृ. ४९

सान र मानका लागि कुनै पनि पार्टीको झण्डा बोक्नैपर्ने बाध्यतालाई गजलकारले राजनीतिमा चल्ने चाकडीवाज भनेका छन् । उनका गजलमा यस्तै विकृति बिसंगतिप्रति व्यङ्ग्य भेटिन्छ ।

ऊ पार्टीको झण्डा बोक्छ भजन गाउँछ सान छ…. ५६

कतिपय गजलमा पहिलो शेरको मात्र अर्थ खोज्दा यही हो भन्न सकिदैन । प्रत्येक शेरले भिन्नाभिन्नै अर्थ बोकेका हुँदा प्रतिकात्मक हिसाबले बुझ्नुपर्ने हुन्छ । कतिपय गजलमा भने दुई तीनवटा शेरका आशय उस्तै बुझिन्छ ।

पत्थरलाई देउता मान्नु आखिर मेरो गल्ती भयो
वैगुनीलाई आफ्नो ठान्नु आखिर मेरो गल्ती भयो पृ.५४

बुबा आमा आदर्श हुन् गुरु मार्गदर्शक
सामु पर्दा सम्मानले सदा शिर झुक्छ पृ. ५७

देशप्रति माया, मावजातिप्रतिको माया, आमा र सन्तानप्रतिको माया, जीवन सङ्गिनीको माया, पे्रमिकाप्रतिको माया आदि आदि …नामै माया महल, माया कहिले मनको प्रित भएर पोखिएको छ , कहिले मनमा जित भएर अटाएको छ , कहिले मनको मीत बनेर आएको छ । गजल सङग्रहभित्र समाविष्ट गजलहरूमध्ये अधिकांश गजलहरू राष्ट्रियताका विषयमा केन्द्रित रहेका छन् । सङ्ग्रहभित्र समाविष्ट अन्तिम गजलको यी दुई शेरमा मेरा आँखा पुगेपछि कलमले यसरी सुटुक्क टिप्न पुग्यो ।

सधैँ अरुकै मात्र परिरहेछौ भर
त्यही कारण भयो देश खण्डहर

कसरी मन बुझाउँनु खै मैले
न छोरो आयो न आयो खबर  पृ. ७२

विदेशिनुको बाध्यता मुखरित भएका यी शेरहरू अहिलेको सन्दर्भमा निकै मार्मिक छन् । युवाको लाम विदेश भासिदै छ ।

सङ्ग्रहभित्र समाविष्ट गजलका शेरहरूमा उनी कहीँ देशभक्त भएर उभिएका छन् । कहीँ पे्रमिकाकी असल र इमान्दार प्रेमी त कहीँ बिद्रोही प्रेमीका रूपमा । कवि कहीँ थोरै आध्यात्मिक देखिन्छन् । कहीँ उपदेशक र दार्शनिक जस्ता पनि । कहीँ कर्तव्यनिष्ठ, कहीँ जीवनका थोरै असन्तुष्टिका सार्वजनिककर्ता ।

सङ्ग्रहभित्र समेटिएका सबै गजलहरू मुक्त लयमा छन् । एकदुई गजलका भाव, विषय एक अर्कासँग मिल्दो भएकाले दोहोरिएको आभास हुन्छ । कर्णालीप्रति सरकारको ध्यान नपुगेको आशय बाइसौँ गजलको अन्तिम शेरले बताउँछ । छैन सरकार कर्णलीमा छैन…..पृ. २२ । पुनः यस्तै आशय गजलकारले उनन्चालीसौँ गजलको तेस्रो शेरमा दोहो¥याएका छन् । सामान्य भाषिक त्रुटि स्वभाविक हो । सिङ्गो सङग्रहको अध्ययनबाट मात्र रबिन्द्रको गजलकारितालाई बुझ्न सकिन्छ ।

यति छोटो समीक्षा उनको सिङ्गो कृतिको समीक्षा हुन सक्दैन । सम्पूर्ण रूपमा उनका गजलहरूलाई बुझ्न सङ्ग्रह नै अध्ययन गर्नुपर्ने हुन्छ । उनले सबैका लागि मायाको महल उभ्याइदिएका छन् । महलभित्र पसेर प्रत्येक कोठा, चोटा चहार्ने अधिकार सम्पूर्ण पाठककहरूलाई छ । आगामी दिनमा अझ उत्कृष्ट रचनाका सङ्ग्रह आइरहून् गजलकारलाई अनगिन्ती शुभकामना ।

पुस्तकको नामः ‘माया महल’
विधाः गजल
प्रकाशक: लिलाध्वज थापा साहित्य प्रतिष्ठान
मूल्य : रु १५०
पृष्ठ संख्या : ७२