सल्यानमा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित १२ जनाले पार्टी छाडे

सल्यानमा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित १२ जनाले पार्टी छाडे


स्थानीय चुनाव नजिकिँदै गर्दा सल्यानको शारदा नगरपालिका–१ श्रीनगर घर भएका नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्षसहित १२ जनाले पार्टी छाडेका छन्। नेकपा एकीकृत समाजवादी सल्यानका जिल्ला उपाध्यक्ष रामकुमार खड्गी, अनेरास्ववियु जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरि पार्टी त्याग गरेका हुन्। 

उनीहरूले सामूहिकरुपमा विज्ञप्ति निकालेर पार्टी त्याग गरेका हुन्। पार्टी त्याग गर्नेमा उपाध्यक्ष खड्गीसहित अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज सिंह, जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मिया, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउले रहेका छन्।

स्थानीय निर्वाचनमा पार्टी विधि विधानअनुसार नचलेको, मनपरी गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको खड्गीले बताए । आफू पार्टीको मुख्य पदाधिकारी हुँदा पनि स्थानीय निर्वाचनमा पार्टीले कुनै जानकारी नै नगराई मनपरी गरेको उनले बताए । ‘जिम्मेवार पदको रहनुको कुनै अर्थ नरहेपछि पार्टीमा बस्नु उपयुक्त ठानिनँ’, खड्गीले भने, ‘त्यही भएर साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएँ।’ 

खड्गी विगतदेखि नै एमालेमा सक्रिय रहेका थिए। एमाले फुटेपछि उनी एकीकृत समाजवादीमा सक्रिय भएका थिए ।

Logo