दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन

दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन


दुधिवन,अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।  

हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका सङ्कलक वैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । 

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए । अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमतिपत्र वितरण भइरहेको जनाएको छ ।

सङ्कलन गर्न भने जेठ दोस्रो सातादेखि पाइने कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा सङ्कलकले प्रतिव्यक्ति रु ५००,  संरक्षण क्षेत्र बाहिरकाले रु दुई हजार र जिल्ला बाहिरकाले परिचयपत्र लिनका लागि रु तीन हजार तिनुपर्ने व्यवस्था छ ।

 अनुमतिबिना सङ्कलन गरे यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । दार्चुलाको व्यासको अपिफेद, दूधिवन, अपिहिमालको चाइमेटला, सातगङ्गा, लोलु, रोखापु, धरमघरलगायत क्षेत्रमा यार्सागुम्बा पाइन्छ । जिल्लाबाट वार्षिक ५ देखि ७ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुन्छ ।

Logo