पाल्पाली सेवा समाज कतारले विविध कार्यक्रम गर्दै

काठमाडौं । पाल्पाली सेवा समाज दोहा कतारको छैटौँ साधारण सभा जेठ २१ देखि कतारमै हुने भएको छ । कतारमा स्थापना भई समग्र पाल्पालीहरूको सुख दुःखमा साथ दिदैं आएको पालपाली सेवा समाजको छैटौं साधारणसभा जुन ४ देखि ६ सम्म अर्थात जेठ २१ देखि २३ गतेसम्म हुने भएको हो । उक्त अवसरमा साङ्गीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम पनि राखिएको छ ।

कतारमै जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना पनि गरिएको खेल संयोजक हेम बगालेले जानकारी दिए । त्यस्तै जुन ७ अर्थात् जेठ २४ गते दोहास्थित गल्फ प्याराडाइज होटेलमा विविध साङ्गीतिक कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, वरिष्ठ कलाकार इन्द्र जिसी, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक विक्रम परियार र नृत्यंगना सपना ढेंगासहित कतारमा रहेका अन्य कलाकारहरूको समेत प्रस्तुति रहने समाजका अध्यक्ष ईश्वर काफ्लेले बताए ।

कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने भएकोले पनि समाजले यसप्रकारका कार्यक्रम गर्दै आएको अध्यक्ष काफ्लेको भनाई छ । कार्यक्रमको मुख्य प्रायोजकको रूपमा रानी महल ट्रेडिङ टेलरिङ डव्लु एल एल रहेको छ । त्यस्तै मिडिया सहयोगीको रूपमा पाल्पा समाचारपत्र साप्ताहिक, पाल्पा समाचार डटकममा र साझा नेटवर्क रहेको समाजका सचिव रामलाल खातीले बताए ।

पाल्पाली सेवा समाजले पाल्पा जिल्लाका हरेक सुख दुखमा साथ दिँदै आएको छ । यो समाजले हालैको वर्ष मात्रै जिल्लामा आधा दर्जन विद्यालयका गरिब तथा विपन्न परिवारका २ सय ५० विद्यार्थीलाई निःशुल्क झोला वितरण गर्नुका साथै दमकडा माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ । यी बाहेक दर्जनौँ रचनात्मक कार्यक्रमहरू समाजले सञ्चालन गरेको छ ।