‘बादल सरकार’ ! बिग्रिएको कुकर बनाउन पाउँ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ज्यू 
गृहमन्त्रालय सिंहदरबार

महोदय,
उपरोक्त सम्बन्धमा सर्वप्रथम केही विगतका कुरा अवगत गराउन चाहन्छु । तपाई र तपाईको सर्वोच्च कमाण्डर प्रचण्ड लगायतले २०५२ सालदेखि १० वर्ष सशस्त्र द्वन्द्व गर्नुभयो । जसमा १७ हजार मानिसले ज्यान गुमाए । धेरैको सिउँदोको सिन्दुर पुछियो, धेरैका बालबच्चा टुहुरा बने । धेरैले अकालमै ज्यान गुमाए । र त्यसको प्रतिफलमा हामीले गणतन्त्र पायौं । मानवअधिरसँगै नागरिकका सबै हक पायौं । यो नै सबैभन्दा ठूलो उपलब्धी हो ।

अहिले तपाईहरुकै सिको गर्दै तपाईहरुबाट अलग भएका नेता विप्लव त्यही धारबाट हिँडेका छन् । उनीहरुको एउटै उद्देश्य भनेको क्रान्ति हो । जुन तपाईहरुले आजभन्दा दुई दशकअघि गर्नुभयो । र, विप्लव अहिले त्यही बाटोमा हिडिरहेका छन् । विप्लवहरुले पनि तपाईकै सिको गर्दै चन्दा, अपहरण, धम्की, बम आतंक ईत्यादी गर्दै आएका छन् । जुन एकदमै गलत हो । आखिर नेपालीलाई मारेर कसको लागि के नै गर्न खोजिएको हो ? यसको उत्तर विप्लवसँग नै खोजौंला ।

विप्लवका पछिल्ला गतिविधिमाथि तपाईको सरकारले प्रतिबन्ध नै लगाएको छ । जुन तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले तपाईहरुलाई लगाएको थियो । प्रतिबन्धपछि विप्लवसहित उनका नेता कार्यकर्ता भूमिगत भए । तपाईले कमाण्ड गरिरहेको सुरक्षा निकायले विप्लव र उनका नेता कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड एरेष्ट’ अभियान नै सुरु गर्नुभयो । जसमा संयौंको संख्यामा विप्लव नेता कार्यकर्ता गिरफ्तार भए । जुन क्रम अहिले पनि जारी नै छ ।

यहि क्रममा जेठ ७ गते भोजपुरमा एक विप्लव कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गर्यो । टेम्केमैयुङ गाउँपालिका–१ अन्तर्गत धोत्लेखानी जंगलमा लुकिछिपी बसेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले आत्मरक्षाको लागि गोली चलायो (प्रहरीकै भाषामा) । गोली लागेर घाइते भएका तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भयो । त्यसपछि विप्लवले त्यसको प्रतिशोध साध्ने चेतावनी दियो । र, आज नेपाल बन्दको आयोजना गरेको छ । बन्दको पुर्वसन्ध्यामा आईतबार दिउँसो अनामनगर र सुकेधारमा बम पड्किएर ४ जनाको मृत्यु भयो ।

यो घटना तपाई लगायत तपाईको तत्कालिन पार्टी नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछिको सबैभन्दा ठूलो हो । जसमा ४ नेपालीले अकालैमा ज्यान गुमाए । तपाईले त उनीहरुलाई नेपाली नागरिक पनि भन्नु भएको छैन् । उनीहरु त विप्लव कार्यकर्ता हुन भन्नुभयो । अब तपाईलाई एउटा प्रश्न, ‘के विप्लव कार्यकर्ता नेपाली नागरिक होईनन् ?’ अब तपाईको शब्द सापटी लिएर भन्नुपर्दा, जनयुद्धमा मारिएका तत्कालिन माओवादीका लडाकुहरु नेपाली होइनन् ?

आईतबार दिउँसो अनामनगर र सुकेधारमा बम पड्किएर ४ नेपालीले अकालैमा ज्यान गुमाए । तपाईले त उनीहरुलाई नेपाली नागरिक पनि भन्नु भएको छैन् । उनीहरु त विप्लव कार्यकर्ता हुन भन्नुभयो । अब तपाईलाई एउटा प्रश्न, ‘के विप्लव कार्यकर्ता नेपाली नागरिक होईनन् ?’

अब म मेरो विषयवस्तु तर्फ जान चाहन्छु । अहिलेको परिस्थितिबाट आम नेपाली त्रसित बन्न थालेका छन् । हरेक नेपालीको मनमा एउटा डर पैदा भएको छ, मुलुक फेरि द्वन्द्वमा जाने त होईन् ? यो प्रश्नले सबैलाई चिन्ता थपेको छ । अर्को कुरा विप्लवमाथि प्रतिबन्ध लगाईरहँदा आम नागरिकलाई दुवै क्षेत्रबाट डर पैदा भएको छ । डर यतिसम्म पुग्न थाल्यो कि कतै घरमा खाना पकाउन प्रयोग गरिएको कुकर नै बेच्नुपर्ने अवस्था आउने त होईन् । म त यो अवस्था आउने होईन्, आईसक्यो भन्न रुचाउँछु ।

विप्लवले हिजो र आज देशका विभिन्न ठाउँमा आतंक मच्चाईरहेको छ । जसमा सुतली बमदेखि खाना पकाउन प्रयोग गरिने कुकर समेत प्रयोग भएको छ । अब कुरा रह्यो यस्तो अवस्थामा कतै कुकर बिग्रिएर बनाउन दिन जाँदा के होला ? कुकर हातमा बोकेर बाहिर आयो भने अरु के नै हुने हो र नजिकै रहेको प्रहरीले विप्लव कार्यकर्ता भन्दै झ्याप्प समात्छ । त्यसैले पनि घरमा भएको कुकर बिग्रियो भनेपनि घरमै थन्क्याएर राख्नुपर्ने अवस्था आउन सक्छ ।

एकजना छिमेकीको आजै कुकर बिग्रियो । १०–१५ मिनेटमै लाग्नुपर्ने कुकरको सिटी एक घण्टा हुँदा पनि लागेन् । त्यसपछि कुकर बिग्रियो अब खाना कसरी पकाउने भन्ने चिन्ता थपियो । कुकर बिग्रियो नजिकै रहेको पसलमा गएर बनाउने यो त सामान्य हो । तर, अहिले परिस्थिति फरक छ । समय फेरिएको छ । कुकर बोकेर बाहिर जाउँ भने विप्लव कार्यकर्ता भन्दै कतै प्रहरीले झ्याप्प समात्ने हो कि भन्ने डर । त्यसैले त्यस्तो त्रासपूर्ण वातावरणबाट छुटकरा पाउन र समयमै भबितव्यमा हुनसक्ने खतराबाट टर्नको लागि गृहमन्त्री ज्यूसमक्ष यो पत्र पेश गरेको छु ।

कृष्णसिंह धामी
काठमाडौं ।