स्वीकृति नलिइ पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण

स्वीकृति नलिइ पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो पञ्चाङ्ग प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ ।
     
समितिको गठन आदेशको दफा ७ को बुँदा ञ र ठ अनुसार अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाहीको तयारीस्वरुप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो । 

पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले मौखिकरुपमा स्पष्टीकरण माग गर्नुभएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले  जानकारी दिए ।  
 
नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उहाँले सुनाउनुभयो । समितिको स्वीकृति नलिइ प्रकाशन भएको मुक्तिनाथ पञ्चाङ्ग पात्रो का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ । मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को साता स्पष्टीकरण सोधिने समितिले जनाएको छ ।
      
यसैगरी समितिले अनुमति नलिइ प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ । अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिइ प्रकाशन भएको पाइएको छ । अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको सङ्ख्या भने एक हजार नाघेको छ । अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।
 
मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो । कार्यविधि स्वीकृत भएपछि अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गरिने भएको छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । विसं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।
 

Logo